धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले जिम्मेवारी सम्हालेपछि आइतबार बसेको पहिलो कार्यपालिका बैठकमा अव विधि कानुनको दायरामा रहेर मात्रै  निर्णय गरिने घोषणा गरेका छन् ।

उनले योजना र निर्णयहरू कार्यपालिका बैठकबाट पारित भएपछि मात्र कार्यान्वयनको प्रक्रियामा लैजान वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूलाई आग्रह गरे ।

कावा प्रमुखको अध्यक्षतामा बसेको पहिलो बैठकले १७ वटा निर्णयहरू गरेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

बैठकमा विपद् व्यवस्थापन सम्बन्धी योजना भने अर्को बैठकमा छलफल गर्ने भनी स्थगित गरिएको छ ।

२०७९ जेठ १० गते पछि निर्वाचित जनप्रतिनिधीहरुले कार्यवाहक प्रमुख बेघाको अध्यक्षतामा बसेको पहिलो पटक सौहृदपूर्ण ढङ्गले प्रस्तावमा छलफल गरी सहमतिमा सम्पन्न भएको कार्यपालिका सदस्यहरूले बताए ।

बैठकले रिक्त रहेको प्रवक्ता पदमा धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नियुक्त गरेको छ। उनलाई उपमहानगरपालिकाबाट भएका कामकारबाही आम नागरिकसमक्ष पुर्‍याउने जिम्मेवारी दिइएको छ।

कार्यपालिका बैठकले प्रशासन महाशाखा प्रमुख प्रज्ञादेवी निरौलामाथि कारबाही अघि बढाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।

निरौलाले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चाैँलागाँइको झूटो रमाना बनाएको र प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको नेमप्लेट फ्याँकेको आरोप छ।

उक्त घटनालाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८० को दफा २४९४० बमोजिम गम्भीर ठहर गर्दै उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेश, विराटनगरमा फिर्ता पठाउने निर्णय गरिएको छ।

बैठकले धरान ३ लाई सांस्कृतिक वडा घोषणा गर्ने निर्णय पनि गरेको छ। प्रधानपञ्च स्वर्गीय कृष्ण कुमार राई र उपमहानगरपालिकामा कार्यरत सबइन्जिनियर स्वर्गीय निर्मल श्रेष्ठको असामयिक निधन प्रति शोक प्रस्ताव पास गरेको छ .

यसैगरी बैठकमा गणपूरक सङ्ख्या, अघिल्लो निर्णय कार्यान्वयन, रमाना बदर, धन्यवाद ज्ञापन, शोक प्रस्ताव पारित, बाटो नाम परिवर्तन, निर्णय अनुमोदन, रकमान्तर, नगर दररेट स्वीकृति, प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विषय, कारबाही प्रक्रिया, एम्बुलेन्स तथा शव वाहन खरिद निर्वाचनपछि गर्ने निर्णय पारित भएका छन्।

धरान २ की क्यान्सर पीडित सन्ध्या श्रेष्ठलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। साथै धरान-८ की सिता नेपाली, विमला कार्की, भोगेन्द्र श्रेष्ठ, वीरेन्द्र लिम्बु, सुमन विक, बाटुली दमाई तथा धरान–१६ का उत्पल रोयलाई पनि आर्थिक सहयोग प्रदान गरिने निर्णय पारित भएको छ ।