धरान : धरानमा धेरै बहस विवाद र कोसिस गरिए पनि स्थानीय नेतृत्वहरू असफल भएको ‘एयरपोर्ट’ बनाउने प्रतिबद्धतालाई उज्यालो नेपालका सुनसरी १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार जेन्टल लावतीले प्राथमिकता साथ उठाएका छन् ।
धरान–१७ डाँडा घोपामा एयरपोर्ट बन्ने बनाउने कुरा धरानमा लामो समय सम्म राजनीतिक प्रोपगण्डाको विषय बन्दै आएको थियो । नगरपालिकामा ४ जना प्रमुख बदलिए पनि बन्ने आशा गरिर्दै आएको एयरपोर्टको कुरा हर्क साम्पाङ नगर प्रमुख भएपछि ‘च्याप्टर क्लोज’ भएको थियो ।
धरानमा सिधा पर्यटक भित्राउन एयरपोर्ट चाहिन्छ भन्ने कुरामा कसैको विमती छैन । तर पार्टी, नेता, बुद्धिजीवी, व्यवसायीहरूले डाँडा घोपामा नभए अरू ठाउँमा भए पनि एयरपोर्ट बन्नु पर्छ कुरा उठाएनन् । चुनावका उम्मेदवारहरूले पनि धरानमा एयरपोर्टको आवश्यकतालाई ओझेलमा राखेका छन् ।
जेन्टल लावतीले धरानमा एयरपोर्ट कहाँ बन्ने ? भन्दा पनि धरानलाई पर्यटन विकासको नयाँ उचाइमा पुर्याउन डोमेस्टिक एयरपोर्ट अब अनिवार्य आवश्यकता भइसकेको बताएका छन् । उनले भने ‘एयरपोर्ट निर्माणले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण, रोजगारी सिर्जना र क्षेत्रीय व्यापार विस्तारमा प्रत्यक्ष प्रभाव पार्नेछ ।’
आज शनिवार उज्यालो नेपाल र राष्ट्रिय परिवर्तनको संयुक्त उम्मेदवार सुनसरी १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जेन्टल लावती .(डम्बर) को सार्वजनिक स्थानीय चुनावी प्रतिबद्धतामा एयरपोर्टको कुराले प्राथमिकता पाएको हो । १७ सूत्रीय प्रतिबद्धतामा ‘धरान–तमोर सुरुङ मार्ग’ लाई पनि धरानको समग्र विकास र समृद्धिका बहु आयामिक योजना मानिएको छ ।
प्रतिबद्धता पत्रमा धरानलाई पहाडी जिल्लाहरूका लागि सबैभन्दा छोटो सडक सञ्जाल मार्फत तराईसँग जोड्ने केन्द्रका रूपमा विकास गर्न बहु उपयोगी सुरुङ मार्ग अपरिहार्य भएको उल्लेख छ ।
प्रतिबद्धताका १७ बुँदा
प्रतिबद्धता पत्रमा दीगो खानेपानी समाधानका लागि लेउती–तमोर योजना र धरान–लेउती सुरुङ मार्ग पहल, सर्दु जलाधार, बजार क्षेत्रका रोक्का जग्गा, सुकुम्वासी र सहकारी समस्या समाधान, धरानलाई व्यापारिक स्मार्ट सहरको रूपमा विकास, घोपा क्याम्प अस्पताल स्तरोन्नति,धरानलाई शैक्षिक हब तथा पर्यटन–प्रविधि–खेलकुद केन्द्र बनाउने योजना छ ।
भाषा–संस्कृतिको विकास, प्रादेशिक थिएटर, बहु सांस्कृतिक पार्क, विजयपुर दरबार क्षेत्र संरक्षण तथा पुनर्निर्माण, रङ्गशाला स्तरोन्नति र स्थायी फ्लड लाइट, “एक घर एक युवा रोजगार” कार्यक्रम, भूतपूर्व सैनिक, ब्रिटिस र भारतीय गोर्खा तथा नेपाली सेनाका समस्या समाधान पहल गरिने प्रतिबद्धता जनाइएको छ ।
वराहक्षेत्र–रामधुनी क्षेत्रको सडक, पुल, शिक्षा–स्वास्थ्य विकास, विजयपुर–विष्णुपादुका–वराहक्षेत्र धार्मिक सर्किट, धरान रिङ रोड, नगर बस, व्यापारिक लोकमार्ग, कृषि एम्बुलेन्स, कोल्ड स्टोर, बजार व्यवस्था, महिला हिंसा, मानसिक स्वास्थ्य, एलजीबीटीक्यु समुदायका लागि सेवा केन्द्र, लागूपदार्थमुक्त धरान, अन्तर्राष्ट्रिय स्तरको पुनः स्थापना केन्द्र तथा हरित पार्कसहित वातावरणमैत्री सहर विकासका योजना छन् ।
राष्ट्रिय तहमा पर्यटन प्रवर्द्धन, कृषि अनुसन्धान केन्द्र, ऊर्जा उत्पादन र निर्यात, युवा स्टार्टअप कोष, समावेशी समाजवादी अर्थतन्त्र, भ्रष्टाचार निर्मूल, शिक्षा–स्वास्थ्य संरचनागत सुधार, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सहकारी ऐन कार्यान्वयन र निर्वाचन क्षेत्र पुनः संरचना लगायत विषयहरूलाई पार्टीको दीर्घकालीन एजेन्डा का रूपमा अघि सारिएको छ ।