धरान : धरानमा माउन्टेन बाइकिङको तेस्रो कोरा राइड धार्मिक, ऐतिहासिक पर्यटकीय स्थल हुँदै ३० किलोमिटर लामो साइकल यात्रा हुने भएको छ ।
साउन २ गते हुने ‘कोरा राइड २०८३’ पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आयोजना गर्ने भएको हो । क्लबले आज बुधवार पत्रकार सम्मेलन गर्दै साइकल यात्रामा ३०० भन्दा बढी राइडर सहभागी गराउने बताएको छ ।
कोरा राइड नेपालमा सन २०११ देखि सञ्चालन हुँदै आएको च्यारिटी साइक्लिङ अभियान हो । धरानमा यो यात्रा सन २०१७ देखि हुँदै आएको आयोजना हो । सन् २०२४ यता पेडलर्स धरानले यसको आयोजना गर्दै आएको छ ।
राइडरहरुको यात्रा धरान–२ भानुचोकबाट बिहान ६ बजे सुरु भई धरान–८ को लाङ्घाली सामुदायिक पार्कमा पुगेर समापन हुने बताइएको छ । साइक्लिङको रुट भोटे पुल,धनकुटे रोड,बुद्ध चोक,घोपा गेट,रेलवे चोक,रत्न चोक, मङ्गलवारे,कल्याण चोक, आँपगाछी,स्वस्तिक चोक, इस्कोन मन्दिर, वैष्णव देवी मन्दिर, हुँदै धरान रङ्गशाला पुग्नेछ ।
त्यहाँबाट, फुसे, बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, विजयपुर, दन्तकाली, निराञ्जन बस्ती, भिन्टेज फेमिली रिसोर्ट, अधेरी खोला,ठिङ्गाबारी,खैरेनी र चारकोसे जङ्गल हुँदै लाङ्घाली सामुदायिक पार्क पुग्ने मार्ग तय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यात्राका क्रममा इस्कोन मन्दिर, फुसे सैनिक स्कुल, विजयपुर चोक र खैरेनीमा विश्रामको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
राईडको मुख्य उद्देश्य कोशी प्रदेश पर्यटन वर्ष २०८३ लाई प्रवर्द्धन गर्नुका साथै धरानका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्दै वातावरणमैत्री पर्यटन र साइकल संस्कृतिलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ ।
साइकल यात्राले छोटो दूरीका दैनिक यात्रामा साइकलको प्रयोग बढाई नागरिकको स्वास्थ्य प्रवर्द्धन, इन्धन तथा ऊर्जा खपतमा बचत र वातावरण संरक्षणमा योगदानप्रति नागरिकमा सचेतना बढाउने विश्वास अभियानले लिएको छ ।
यस वर्ष कार्यक्रममा धरान बाहेक काठमाडौँ, पोखरा, बुटवल लगायत सहरबाट पनि साइकलयात्रा प्रेमीहरू सहभागी बताइएको छ । अहिले सम्म २२० भन्दा बढी राइडरले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।
गत वर्ष २६० जना सहभागी भएकोमा यस वर्ष सहभागी सङ्ख्या ३०० नाघ्ने अपेक्षा गरिएको बताइएको छ । साइक्लिङ रुट अघिल्लो वर्षभन्दा केही विस्तार गर्दे गत वर्ष २८ किलोमिटर रहेको साइक्लिङ रुट यस वर्ष २ किलोमिटर थपेर ३० किलोमिटर बनाइएको छ ।
थप रुटमा ठिङ्गाबारी ९अधेरी खोला० क्षेत्र समेट्दै रुट विस्तार गरिएको आयोजकले जनाएको छ। यसबाट सहभागीले धरानका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदासँगै चारकोसे जङ्गलको प्राकृतिक सौन्दर्यको अनुभव गर्न दुरी थप गरेको जनाएको छ ।