धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीको विधान विपरीत एकल निर्णयबाट फेसबुक मार्फत पार्टीको क्युआरटी (क्विक रेस्पोन्स टिम) विघटन गरेको विरोधमा ३४ जना सदस्यले संयुक्त वक्तव्य जारी गर्दै उक्त अवैधानिक निर्णय फिर्ता नलिए क्युआरटी पुनर्गठन गरेर पार्टीलाई विधान, विधि र लोकतान्त्रिक मूल्य मान्यतामा चलाउने अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।
साम्पाङले पार्टीका क्युआरटी विघटन गरी सुरक्षा विभाग गठन गर्ने घोषणा गरेपछि पार्टीभित्रै असन्तुष्टि चुलिएर विद्रोहको अवस्थामा पुगेको छ । सोमबार जारी विज्ञप्तिमा अध्यक्ष राईले फेसबुक मार्फत क्युआरटी विघटन गरी सुरक्षा विभाग गठन गर्ने घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 
विज्ञप्ती आफूहरू पार्टीको विधान र जिम्मेवारी अनुसार प्राकृतिक प्रकोप, सामाजिक सेवा तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय रूपमा योगदान दिँदै आएकोमा पार्टीमा कुनै छलफल वा परामर्श बिनै क्युआरटी विघटन गर्नु विधान विपरीत र अलोकतान्त्रिक कदम भएको आरोप लगाइएको छ।
क्युआरटी सदस्यहरूले पार्टी विधानमा व्यवस्था नै नभएको सुरक्षा विभाग गठन गर्नु पनि विधिसम्मत नभएको दाबी गरेका छन् । उनीहरूले अध्यक्ष राईसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै त्यसो नभए क्युआरटीलाई पुनर्गठन गरी पार्टीलाई विधान, विधि र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गराउन अभियान चलाइने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा पार्टीभित्र देखिएका विसङ्गति, स्वेच्छाचारिता तथा विधान विपरीत गतिविधिहरू सार्वजनिक गर्दै पार्टी शुद्धीकरण अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । विज्ञप्तिमा क्युआरटीका ३४ सदस्यको तर्फबाट संयोजक ज्ञानु चाम्लिङले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘पार्टी भित्र रहेका विसङ्गति, स्वेच्छाचारिता तथा विधान विपरीत गतिविधिहरूको भण्डाफोर गर्दै पार्टी शुद्धीकरण अभियान सञ्चालन गरिने जानकारी समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
पार्टीले क्युआरटी प्राकृतिक प्रकोप, उद्धार तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने भनी गठन गरेको टोली हो । 
विज्ञप्तिमा क्युआरटी संयोजक ज्ञानु चाम्लिङले भनेका छन् ‘हामीसँग कुनै सल्लाह नै नगरी अध्यक्षज्यूले क्युआरटी विघटनको घोषणा गर्नुभयो, पार्टीबाट हामीलाई निष्कासन गरे पनि क्युआरटी सामाजिक सेवाको अभियानमा निरन्तर सक्रिय रहनेछ ।’
संयुक्त विज्ञप्तिको पूर्ण विवरण र हस्ताक्षरकर्ताहरूको नामावली :
qrt-team