धरान : बसपार्क सरेपछि भानु चौकबाट बस चढ्दै आएका यात्रुहरूलाई नयाँ बसपार्क पुग्न थप आर्थिक भार परेकाले नगर बस सञ्चालन गर्न माग भइरहेका बेला व्यवसायीहरूले भानुचौक–नयाँ बसपार्क सटल बस र धरान बजारबाट भानुचौक ल्याउने नगर बस सञ्चालनको माग गरेका छन् । 
बसपार्क सरेपछि भानु चोक र आसपास व्यापार–व्यवसाय प्रभावित भएकोले चलायमान बनाउन उद्योगी व्यवसायीले आज बुधवार नगर प्रमुख अइन्द्रविक्रम बेघालाई बुझाएको १५ बुँदे माग सहितको पूनःस्मरण पत्रमा सटल बस, नगर बसको माग पनि उल्लेख गरेका हुन् । 
नगर बस सञ्चालनका लागि गाडी ल्याउन प्रतिगाडी ५ लाख रुपैयाँसम्म अनुदान र ३ महिनासम्म दैनिक २० लिटर इन्धन उपलब्ध गराउनुपर्ने प्रस्ताव व्यवसायीहरूले अघि सारेका छन् ।
सटल बस तथा नगर बस नचलुन्जेल बसपार्कबाट छुट्ने सवारी साधनलाई भानु चोक–छाता चोक–लक्ष्मी सडक–पुरानो बजार–सिंहदेवी चोक–माछाभौडी हुँदै गन्तव्यमा जाने वैकल्पिक मार्गको व्यवस्था गर्न उनीहरूको माग छ ।
स्मरण पत्रमा व्यवसायीहरूले पहाड जाने सवारीलाई घण्टाघरबाट यात्रु चढाउने र फर्किएकालाई भानुचोकमा ओराल्ने व्यवस्था गर्न माग गरेका छन् ।
व्यवसायीहरूको मागपत्र बुझेका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले विभिन्न पक्षबाट आएका मागहरूलाई गम्भीरता पूर्वक हेरिने बताए । उनले भने ‘सबै माग तत्काल सम्बोधन गर्न कठिन भए पनि भानुचोकलाई व्यवस्थित र चलायमान बनाउने उद्देश्यले जायज मागहरू सम्बोधन गरिने छ ।’
व्यवसायीहरूले देशी लाइनमा दुईतर्फी सवारी सञ्चालनको माग पनि दोहो¥याएका छन् । भानु चोक क्षेत्रमा सशुल्क पार्किङको व्यवस्था गरी पर्यटक तथा पर्यटकीय सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराउन माग गरिएको छ । भानुचोकमा अव्यवस्थित सिटी सफारी, अटोहरू गन्तव्य अनुसार व्यवस्थित गर्न माग गरिएको छ ।
व्यापार–व्यवसाय घटेकोले व्यवसाय कर, सम्पत्ति करलगायतका करमा छुट दिनुपर्ने माग गरेका छन् । घर भाडा घटाउन घरधनीसँग नगरपालिकाको पहलमा छलफल गरी घर भाडा निर्देशिका बनाउन माग गरिएको छ ।
पुरानो अस्पतालको जग्गा प्राप्त भइसकेको अवस्थामा नगर अस्पताल तत्काल सञ्चालन गर्न माग गरिएको छ । धरानमा व्यवस्थित ढुवानी कार्यालय स्थापना गर्न नगरपालिका र सुनसरी उद्योग वाणिज्य सङ्घले संयुक्त पहल गर्नुपर्ने व्यवसायीहरूमा सुझाव छ ।