धरान : तेह्रथुम घर भई हाल धरान–१५ मा बसोबास गर्दै आएका राजेन्द्र खापुङले वैदेशिक रोजगारीमा माल्टा पठाई दिने भनी धरानका १७ जनाबाट ५७ लाख रुपैयाँ ठगी गरेको पीडितहरूले मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी आरोप लगाएका छन् ।
धरान–११ का सुचिम राई सहित पीडितहरूले पत्रकार सम्मेलन गरेको भोलिपल्ट बुधवार आरोपित खापुङले पनि पत्रकार सम्मेलन गरी ‘पैसा लिएको प्रमाणित भए कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ भन्दै आफूले कसैसँग पैसा नलिएको दाबी गरेका छन् ।
सुचिम राईकी श्रीमती विगमसरी राईको नाममा खापुङ विरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएकाले उनले भने झैँ कानुन बमोजिम ढिलो चाँडो निसाफ हुने कुरा पत्रकार सम्मेलनमा पीडित पक्षले बताएको छ ।
पीडितहरूले १४ जनाबाट जनही १ लाख रुपैयाँका दरले १४ लाख, सुचिम राईबाट २८ लाख,अशोक राईबाट १० लाख र आशिष् राईबाट ५ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँ खापुङले माल्टा पठाइदिने भनी लिएको आरोप लगाएका हुन ।
सुचिम राईले भने ‘मलाई गाँजा सम्बन्धी मुद्दामा पक्राउ परेपछि छुटाइदिने भन्दै खापुङले २८ लाख रुपैयाँ लिएको हो ।’ 
विक्रम तामाङले माल्टा पठाउने भन्दै खापुङका स्टाफ खुलाराज भारतीलाई रकम बुझाएको दाबी गरे । उनीहरूले रकम लेनदेनसँग सम्बन्धित कागजात तथा खापुङलाई पक्राउ गर्ने पुर्जी भनी पत्र समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।
पीडितहरूले आरोप लगाएको भोलिपल्ट बुधवार खापुङले पत्रकार सम्मेलन गर्दै आफू विरुद्ध लगाइएको आर्थिक ठगीको आरोप ‘मिथ्या, कपोकल्पित र भ्रामक’ भएको बताए । उनले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने ‘मबाट एक रुपैयाँ लिएको प्रमाणित भए २८ लाख मात्र होइन, २८ करोड रुपैयाँ तिर्न तयार छु ।’ प्रमाण भए कानुन बमोजिम निकायमा जान उनले चुनौती दिँदै । तर आरोप लगाउनु समाज भाँड्ने र चरित्र हत्या गर्ने काम भएको प्रत्यारोप लगाए ।
खापुङले ‘गाँजा केश मिलाउन’ सुचिम राईले २८ लाख रुपैयाँ लिएको आरोप लगाएकोमा कडा आपत्ति जनाए । उनले उक्त आरोप सामाजिक सञ्जालमा आएकोले चरित्र हत्या गर्न खोजिएको बताए ।
खापुङ विरुद्ध विक्रम तामाङले आफूहरूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेकोमा खापुङले भने ‘ती प्रमाण सम्बन्धित निकायमा पेश गर्ने कानुनी प्रक्रियाबाट न्याय खोज्नुस् ।’
thagi-aropit