धरान : प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषको लागि किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला समितिले चुम्लुङकर्मीहरूबाट ९६ हजार ६८० रुपैयाँ सङ्कलन गरेर केन्द्रीय समितिलाई पठाएको छ।
चुम्लुङको ३८ औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष शिव सुब्बाले उक्त जानकारी दिएका हुन । उनका अनुसार उक्त रकम धरान नगर समिति र वराहक्षेत्र नगर समितिका चुम्लुङकर्मीहरूबाट सङ्कलित रकम हो । इटहरी र रामधुनी नगर समितिबाट रकम आउन बाँकी छ ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिको आव्हानमा प्रधानमन्त्री उद्धार कोषको लागि चुम्लुङका जिल्ला समितिहरूले कार्यसमितिबाट सहयोग अभियान क्रममा उक्त रकम सङ्कलन भएको हो ।
कार्यक्रमका बिचमा समेत दाताहरूले प्रदान गरेको रुपैयाँ सहितको उक्त रकम सोही अवसरमा जिल्ला अध्यक्ष सुब्बाले केन्द्रीय उपाध्यक्ष डा. योगेन्द्र पालुङवा सहित केन्द्रीय सचिव सङ्गीता सुब्बा, केन्द्रीय सदस्य मोहनकुमार हुक्पाचोङबाङलाई हस्तान्तरण गरेका छन् ।
उपाध्यक्ष डा.पालुङवाले उक्त रकम केन्द्रीय समिति मार्फत प्रधानमन्त्री उद्धार कोषमा जम्मा हुने बताए । उनका अनुसार भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले गरेका जनधन विनाशमा उद्धार, राहत कार्यका लागि चुम्लुङ केन्द्रीय समितिले जिल्लाबाट सङ्कलित रकम प्रधानमन्त्री कोषमा जम्मा गर्नेछ ।
स्थापना दिवसको अवसर चुम्लुङद्वारा सामुदायिक विद्यालयका छात्राहरूलाई प्रदान गरिँदै आएको १०/१० हजार रुपैयाँको छात्रवृत्ति यसपाली धरान र रामधुनीका छात्रालाई प्रदान गरिएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने धरानकी छात्रामा किरातेश्वर मावि कक्षा १२ की छात्रा ममता लिम्बु छन् । उनले गत: वर्ष कक्षा ११ मा पनि श्रीमती याममाया सिंगक (आङबुङ( छात्रवृत्ति कोषबाट उक्त छात्रवृत्ति प्राप्त गरेकी थिइन् । निरन्तर उत्तीर्ण हुने विद्यार्थीलाई कोषले दुवै वर्ष छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।
यसपाली पहिलो पटक छात्रवृत्ति पाउने पञ्चायत माध्यमिक विद्यालय, रामधुनी–७ की कक्षा ९ की छात्रा स्मारिका लिम्बु छन् । उनलाई किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषले प्रदान गर्दै आएको छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रम अघि भोटेकोशीमा आएको प्रलयकारी बाढीमा दिवङ्गत भएका आत्माहरूको चिर शान्तिका लागि मौन धारण गरिएको थियो । बाढीको विनाशका कारण मुलुक शोकाकुल भएकाले औपचारिक कार्यक्रममा चर्चा परिचर्चाका वक्ता राखिएको थिएन ।
प्रधानमन्त्री उद्धार कोषका लागि केन्द्रीय पदाधिकारीलाई रकम हस्तान्तरण गरिँदै ।
तस्विरः हर्ष सुब्बा