धरान : धरानमा ताप्लेजुङका पदम चेन्जी माबोलाई कालोमोसो दल्ने ८ जनालाई किरात याक्थुङ चुम्लुङ सुनसरीले भोलि कार्यालय समय भित्र हाजिर गराउने अध्यक्ष मोहन हुक्पाचोङले बताएका छन् ।

आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता भएका धरान-१५ का दिवस राई, धरान-१५ का अमर ईजम, जेन्टल लावती, शिवहाङ राई, सुमन चेम्जोङ, सृजना बेघा, विष्णु थाम्देन लगायतका 'नो केबलकार पक्षधर' आन्दोलनकारीलाई चुम्लुङले हाजिर गराउने भएको हो ।

ताप्लेजुङका पदम चेन्जी माबोले आफूलाई धरानमा कालोमोसो दल्नेहरू ८ जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी किटानी थिए ।

सोमबार चुम्लुङको अगुवाइमा इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगु सँग छलफल बसेको थियो । छलफलमा डिएसपी जबेगुले 'पक्राउ पुर्जी भएका ८ अभियुक्तहरूलाई हाजिर गराउनुस् नत्र हामी जसरी नि पक्राउ गर्छौ' भने पश्चात् फरार रहेका ८ जना लाई चुम्लुङ हाजिर गराउने भएको हो ।

उता इलाका प्रहरी कार्यालय धरानले फरार अभियुक्तहरूको तीव्र खोजी गरिरहेको बताएको छ। इलाका प्रहरी कार्यालय कानुन बमोजिम चल्ने र पक्राउ पुर्जी आइसकेकाले पक्राउ गर्न प्रहरी खटाई रहेको डिएसपी जबेगुले बताए ।

अध्यक्ष हुक्पाचोङले फरार भएका अभियुक्तलाई भोलि इलाका प्रहरी कार्यालय हाजिर गराउँदै ३ सयको सङ्ख्यामा 'नो केबलकार' पक्षधर आन्दोलनकारीलाई ताप्लेजुङ पदयात्रामा पठाउने तयारी गरेको जनाए ।

उनले धरान देखि २ गाडी र इटहरी देखि ३ गाडी मान्छे ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको भौगोलिक अवस्थाको स्थलगत अनुगमनका लागि पदयात्रा पठाउने तयारी रहेको  बताए ।