धरान : विजयपुर दरबार परिसरको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्त्व तथा संरक्षणको पहल अघि बढाउन याक्थुङ विजयपुर सम्मेलन गरिने भएको छ ।
दरबार परिसर संरक्षण सङ्घर्ष समितिले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी असोज १० र ११ गते सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो । सम्मेलन धरान १९ लाङघाली सामुदायिक बनमा हुने आयोजकले जनाएको छ । 
सम्मेलनमा विजयपुर क्षेत्रको इतिहास,पुरातात्त्विक महत्त्व,सांस्कृतिक पक्ष,संरक्षणको अवस्था र भावी योजनाबारे विज्ञ, इतिहासकार,अनुसन्धानकर्ता तथा सरोकारवालाबीच छलफल गरिने समितिले जनाएको छ।
सम्मेलनमा इतिहास, पुरातत्त्व, संस्कृति तथा संरक्षण क्षेत्रका विज्ञ, लेखक, सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, प्राज्ञिक व्यक्ति र स्थानीय सरोकारवालाको सहभागिता रहनेछ।
विजयपुर क्षेत्र किरात तथा सेनकालीन इतिहाससँग जोडिएको महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक धरोहर भएकाले यसको वैज्ञानिक अध्ययन, अभिलेखीकरण र संरक्षण आवश्यक रहेको समितिका प्रवक्ता अमित थेबेले बताए।
उनले विजयपुर क्षेत्रमा विभिन्न समुदायसँग जोडिएका चिन्डो, त्रिशूल, सिलाम साक्मा लगायत सांस्कृतिक प्रतीक तथा सम्पदाको अपनत्व र स्वामित्वबारे मतभेद रहँदै आएको विषयलाई ऐतिहासिक आधारमा संवाद मार्फत समाधान गर्न सम्मेलनले जोड दिने बताए ।
विजयपुरलाई साझा सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न त्रिपक्षीय छलफल भइरहेको उनले बताए ।  अव्यवस्थित बसोबास, नयाँ कङ्क्रिट संरचना निर्माणले ऐतिहासिक अवशेषमा असर पर्न सक्ने भएकोले समितिले वैज्ञानिक अध्ययन, उत्खनन, अभिलेखीकरण र संरक्षणमा जोड दिएको उनको भनाई छ।
सम्मेलन सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए । संरक्षण समितिका अध्यक्ष तीर्थ मादेम्बा र प्रवक्ता तथा विचार विभाग प्रमुख अमित थेबेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।