धरान : विश्व आत्महत्या रोकथाम दिवसमा मानसिक स्वास्थ्यप्रति जनचेतना फैल्याउन बिहीबार साँझ धरानमा साइकल  प्रदर्शन गरिएको छ । 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुरु भएको र्‍याली  गणेशमान चोक, छाता चोक हुँदै भानु चोक पुगेर समापन भएको हो ।
र्‍याली आत्महत्या रोकथाम गर्न मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने सन्देशमूलक आव्हान गर्दै सम्पन्न भएको छ । 
समापनमा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख डा. मधु बस्नेतले विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष करिब ७ लाख २७ हजार जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको बताए।
उनका अनुसार नेपालमा पनि हरेक वर्ष करिब ७ हजार जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्, अर्थात् दैनिक औसत २० जनाको मृत्यु हुने गरेको छ।
उनले भने ‘आत्महत्या र मानसिक स्वास्थ्यबिच गहिरो सम्बन्ध हुन्छ, जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, मनोसामाजिक सहयोग र उपचारमा पहुँच बढाउन जरुरी हुन्छ ।’ यसबाट आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।