धरान : धरान नोबेल कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ। धरान–१६ स्थित गुरुङ बीबीक्यूको हलमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, गतिविधि तथा आगामी अध्ययन यात्राबारे जानकारी गराइएको थियो।

कार्यक्रममा कलेजका निर्देशक शोभित यादवले कलेजको शैक्षिक गतिविधि, अध्ययन अध्यापनको वातावरण तथा विद्यार्थीको क्षमता, प्रतिभा र व्यक्तित्व विकासका लागि कलेजले गर्दै आएका प्रयासबारे जानकारी दिए। उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको रुचि र क्षमताअनुसारको वातावरण निर्माणमा कलेज प्रतिबद्ध रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्र विक्रम बेघाले धरानलाई शैक्षिक हबका रूपमा थप विकास गर्नुपर्नेमा जोड दिए। उनले विद्यार्थी जीवन भविष्य निर्माणको महत्वपूर्ण चरण भएकाले अध्ययनसँगै अनुशासन, मेहनत, लगनशीलता र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिन आग्रह गरे।

विशेष अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले विद्यार्थीको शैक्षिक विकासमा कलेज, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए। धरान–१२ का वडा सदस्य ब्रमज्ञ भट्टराईले सामाजिक सञ्जालको दुरुपयोग रोक्न विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए।

कलेजका अध्यक्ष डा. मोहन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मणि राईले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्यलगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए।

स्वागत कार्यक्रमकै अवसरमा कलेजले यस वर्षको मिस्टर फ्रेसरमा कम्प्युटर साइन्सका विद्यार्थी रिवाज श्रेष्ठ र मिस फ्रेसरमा साइन्स (बायोलोजी) की युनिया राईलाई चयन गरेको छ।

कलेजका अनुसार विद्यार्थीको पढाइ, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा सहभागितालगायतका आधारमा उनीहरूलाई मिस्टर र मिस फ्रेसरका रूपमा छनोट गरिएको हो।

कार्यक्रमले नयाँ विद्यार्थीलाई कलेजको वातावरणसँग परिचित गराउनुका साथै उनीहरूमा आपसी सद्भाव, उत्साह र नयाँ शैक्षिक यात्राप्रति सकारात्मक ऊर्जा प्रदान गरेको कलेजका सञ्चालक मणि राईले बताए।

dharan nobel college 2nobel college 3