धरान : धरान मेघा हिमालयन कलेजले नयाँ भर्ना भएका विद्यार्थीको स्वागतमा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ ।
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार यसपाली कलेजमा कक्षा ११ मा ५७० विद्यार्थी भर्ना भएका छन् । 
कक्षा ११ का नव आगन्तुक विद्यार्थीको स्वागतमा कलेजले धरान–१५ स्थित चुम्लुङ हिममा कार्यक्रम राखेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गायन, नृत्य लगायत साङ्गीतिक प्रस्तुति दिएका थिए ।
हाजिरी जवाफ प्रतियोगिता पनि भएको कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले विद्यार्थीले पढाइसँगै अतिरिक्त क्रियाकलाप र जीवनोपयोगी सीपमा समेत ध्यान दिनुपर्ने बताए।
सो अवसरमा उत्कृष्ट शिक्षकका रूपमा प्रमोद श्रेष्ठलाई सम्मान गरियो । कलेज अध्यक्ष राजेश विद्रोहीले अनुभवी शिक्षक मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।