धरान : धरानमा पहिलो पटक रात्रिकालीन महिला अन्तर क्लब अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता  हुने भएको छ । 
डी–१९ क्लब धरान–१९ द्वारा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबले ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप–२०८३’ आयोजना गर्ने तयारी गरेको घोषणा गरेको हो । 
आगामी कार्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा अस्थायी फ्रलडलाइट जडान गरेर रात्रिकालीन  प्रतियोगिताको सञ्चालन गरिने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले बताए ।
यस अघि धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर क्लब बुढासुब्बा गोल्डकप हुँदै आएको छ । अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबलको रात्रीकालिन प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको हो । रात्रिकालीन फुटबल यस अघि गोधुली अन्तर वडा फुटबल एक पटक सञ्चालन गरिएको थियो ।
पत्रकार सम्मेलनमा महिला फुटबलको व्यवसायीक विकासमा स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका सचिव उमेश जिमीले बताए । 
प्रतियोगितामा आक्वा फुटबल क्लब भारत, नेपालका विभागीय टिमहरू एपीएफ, नेपाल आर्मी त्रिभुवन क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरान सहभागी हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगिताको विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार र विजेताको कप प्रदान गरिने छ । उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । 
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ । बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, बेस्ट कोच र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
क्लबद्वारा जारी प्रेस विज्ञप्ति अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ९१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै क्लबका सल्लाहकार अशोक राईले प्रतियोगिता सञ्चालन गर्न उपमहानगरपालिका, वडाध्यक्षहरू, व्यवसायीहरू तथा विदेशमा रहेका धरानका पूर्व फुटबल खेलाडीहरूबाट सहयोग प्राप्त हुने विश्वास गरिएको छ ।