धरान : धरान कृषि उपज बजारमा थोक बिक्रीका लागि आएको ८ सय केजी अकबरे खोर्सानीमा १८ केजीमा दुई किसिमका विषादी मापदण्ड भन्दा बढी प्रयोग गरिएको पाइएपछि उपभोक्ता सम्म पुग्न नदिन उक्त खोर्सानी नष्ट गरिएको छ । 
विषादी अधिक भेटिएको अकबरे बिहीबार पूर्वी पहाडी भेक भोजपुरको तिवारी भन्ज्याङबाट धरान ल्याइएको कृषि बजार कार्यालयले जनाएको छ । 
कृषि बजारमा गरिएको विषादी अवशेष द्रुत परीक्षणमा अकबरे खोर्सानीमा कार्वामेट १० दशमलव ८४७२ प्रतिशत र अर्गानोफस्फेट ४५ दशमलव १७१५ प्रतिशत विषादी भेटिएको कृषि बजारका नायब प्राविधिक सहायक रुपेश रिजालले बताए । 
उनका अनुसार अकबरेमा भेटिएका विषादीको अंश मापदण्ड भन्दा बढी अखाद्य श्रेणिको भएकोले खोर्सानी उपभोग अयोग्य ठहर गर्दै नष्ट गरिएको हो ।
अकबरे व्यापारी ज्ञानबहादुर बस्नेतले कृषकहरूबाट खरिद गरी भोजपुरबाट ३ क्विन्टल अकबरे धरान ल्याएका थिए । त्यसमध्ये १८ किलोमा विषादी भेटिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् । 
तीन सय केजी अकबरेमा १८ केजीमा मात्र विषादी भेटिएको बारेमा उनले थप जानकारी दिएनन् । अधिकृत सापकोटाले भने ‘अन्य स्थानीय तहबाट विषादी परीक्षणबिनै कृषि उपज आउने भएकाले सबै पालिकाले परीक्षण व्यवस्था लागू गर्न आवश्यक छ ।’
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै धरान कृषि बजारमा नियमित विषादी परीक्षण हुँदै आएको उनको भनाई छ ।
कृषि बजारमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भेटिएका कृषि उपजलाई उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेनटिनमा राखेर पुनः परीक्षण गरी बजार पठाइन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए नष्ट गर्ने व्यवस्था रहेको प्राविधिक सहायक रिजालले बताए । 
कृषि बजारमा आउने फलफूल, खाद्य सामाग्री तरकारीहरू त्यहाँ स्थित कृषि प्रयोगशालामा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट परीक्षण गरी विक्री वितरण गरिने कार्यालयले जनाएको छ ।