इटहरी : जलवायु परिवर्तनको कारण नेपालले गम्भीर सङ्कटको सामना गरिरहेको भन्दै सुनसरीको झुम्कामा प्रभातफेरी आयोजना गरिएको छ । जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित नागरिक समाजले र्‍याली निकालिएको  हो ।

सामाजिक सङ्घसंस्था तथा विद्यार्थीहरू समेत सहभागी र्‍याली रामधुनीका बजार क्षेत्र परिक्रमा गरेर कोणसभामा परिणत भयो । जलवायु परिवर्तनका कारण नेपालले बारम्बार क्षति बेहोर्नु परेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको हो ।

जलवायु परिवर्तनको कारण बाढी, डुबान, पहिरो, अनियमित वर्षा, तापक्रम वृद्धिलगायतका असरप्रति सचेत गराइएको छ । जलवायु परिवर्तनमा कम योगदान गर्ने नेपालजस्ता मुलुकले बढी क्षति बेहोर्नुपरेको नेपाली काँग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीले बताए । नेपाल जस्ता प्रभावित देशको लागि न्यायोचित क्षतिपूर्ति र संरक्षणका कार्यक्रम सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।