इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिएसँगै वडा देखि केन्द्रीय समिति सम्मको आकाङ्क्षीले दाबेदारी प्रस्तुत गर्न थालेका छन् । त्यसै बिचमा पूर्वको महत्त्वपूर्ण सहर इटहरी उपमहानगरपालिकाको कार्यसमिति चयन चर्चाको विषय बनेको हो । 

सभापति हेमकर्ण पौडेल पुनः उम्मेदवार नबन्ने भएपछि नयाँ नेतृत्वलाई लिएर नेताहरू सक्रिय बनेका छन् । पौडेलसँग दुई पटक सभापतिमा पराजित विकास केसी सर्वसम्मत सभापति हुने तयारीमा छन् । तीन कार्यकालका सभापति पौडेल सहित प्रदेश समिति सदस्य सिजन गुरुङले समेत केसीलाई समर्थन गर्ने भएका छन् । यसअघि गुरुङ र केसी बिच मुख्यतः तरुण दललाई लिएर मतभिन्नता रहँदै आएको थियो । संवादहीनताकै अवस्थामा पुगेका गुरुङ र केसी १५ औँ महाधिवेशनको समीकरणलाई लिएर एक ठाउँमा आएका हुन् ।

विगतमा इटहरी काँग्रेसमा हेमकर्ण र विकास पक्ष बिचमा भातृ देखि सुवेच्छुक संस्था बिचमा गुटबन्दी देखिने गरेको थियो । कार्यकर्ता स्तरमै दुई पक्षीय नेताहरू बिचमा प्रतिस्पर्धा देखिएको इटहरी काँग्रेसमा नयाँ अभ्यास सुरु गर्ने तयारी भएको छ । पौडेल, केसी र गुरुङ बिचको आन्तरिक प्रतिस्पर्धा नगर्ने र सर्वसम्मत सभापति बनाउनेगरि अनौपचारिक सहमति भइसकेको छ ।

तीन नेताले आपसमा प्रतिस्पर्धा नभई सहयोग गर्ने नीति तय गरेका छन् । नेताहरू बिचमा सहमति भए पनि कार्यकर्ता स्तरमा भने नयाँ उम्मेदवार बन्नेगरि तयारी भइरहेको छ । पौडेलको प्यानलबाट उपसभापति बनेका कोविदजङ्ग कार्की र सचिव विक्रम घिमिरे सभापतिको तयारीमा छन् । १४ औँ महाधिवेशनमा केसीको प्यानलबाट उम्मेदवार बनेर उपसभापतिमा विजयी भएका बालकृष्ण विष्टले घरदैलो अभियान नै चलाउन थालेका छन् ।

पौडेलको प्यानलबाट उपसभापति उम्मेदवार बनेर पराजित भएका शिवराज दाहाल भने केसीलाई सभापति बनाउनेगरि समन्वयको भूमिकामा छन् । उनले कार्की र घिमिरेसँग संवाद गरिरहेका छन् । तीन पटक सम्म उम्मेदवार बनेका केसीलाई सभापति बनाएर न्याय दिलाउनुपर्ने तीननेता निकट समूहको भनाइ छ ।

अर्कातर्फ सभापतिको उम्मेदवार बन्न लागेका घिमिरे, कार्की र विष्ट भने सर्वसम्मतिले नेतृत्वमा अहङ्कार बढ्ने र चेक एन्ड ब्यालेन्स नहुने तर्क गर्छन् । नेतृत्वलाई सही दिशा दिन र पार्टीलाई चलायमान बनाउन निर्वाचनको मार्फतबाट सभापति चयन हुनुपर्ने विष्टले बताएका छन् ।

पौडेल नेतृत्वको समितिका दुई उपसभापति र एक सचिव नै चुनावी मैदानमा जाने योजनामा देखिन्छन् । उपमहानगरपालिकाको मेयर समेत भएका पौडेलले पार्टीका कार्यकर्तालाई जोड्न नसकेको आरोप लाग्ने गरेको छ । पौडेल, केसी र गुरुङ बिचमा एकता भए पनि कार्यकर्ताले निर्वाचनको सङ्केत गरेका छन् ।

यसअघि उद्योग वाणिज्य सङ्घको निर्वाचनमा दुई पटक पौडेलले समर्थन गरेका उम्मेदवार पराजित भइसकेका छन् । खानेपानीको निर्वाचनमा समेत उत्कृष्ट नतिजा नदिएका पौडेलको नेतृत्वलाई प्रश्न उठाउँदै नयाँ नेतृत्व चयन गर्नुपर्ने आवाज उठिरहेको छ ।

भदौ २४ गतेदेखि तोकिएको १५ औँ महाधिवेशनको कार्यतालिका परिवर्तन गर्नेगरि निर्वाचन समिति बैठक बस्ने भएको छ । नयाँ कार्यतालिका आए असोज पहिलो साता वडा तथा नगर अधिवेशन सम्पन्न हुने देखिएको छ ।