धरान : भोटेकोशी महाविपत्तिमा दिवङ्गत भएकाहरूको मुक्ति एवं बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीको धार्मिक स्थलहरूमा पाठ पारायण गरिएको छ ।
ब्राह्मण समाज नेपाल सुनसरी र वैदिक कर्मकाण्ड परिषद् सुनसरीको आयोजनामा सोमबार सुनसरीका विभिन्न मन्दिरहरूमा सामूहिक पाठ गरिएको हो ।
सोमबार सरकारले सो घटनाको स्मरणमा शोक दिवस घोषणा गरेको छ । सोही शोक दिवसको अवसर पारेर ब्राह्मणहरूद्वारा यथाशक्ति श्रीमद्भागवत, गीता, पञ्चशुक्त, विष्णु सहस्त्रनाम, गजेन्द्र मोक्ष पाठ गरेका थिए ।
धरानको गीता भवनमा यसरी सामूहिक पाठ र जप गरिएको थियो भने इटहरीको आँपगाछी, खनारको शिव मन्दिर, झुम्का, इनरुवाको मधेसा र वराहक्षेत्रमा समेत यसरी पाठ गरिएको थियो ।
ब्राह्मण समाज र वैदिक कर्मकाण्ड परिषद्का सदस्यहरू आफै उपस्थित भएर आ-आफैले यसरी पाठहरू र जपहरू गरेका हुन् । उक्त अवसरमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै मौनधारण समेत गरिएको थियो ।









































































