धरान : युवक कवि मोतीराम भट्टको १६१ औँ जन्म जयन्तीमा धरान उपमहानगरपालिकाले यसपाली साहित्य, कला, संस्कृतिको क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई नगद सहित सम्मानित गर्ने कुरा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले बताएका छन् ।

मोती संस्मरण समितिद्वारा आज शुक्रवार बिहान आयोजित कार्यक्रममा प्रमुख अतिथि बेघाले भने ‘धरानको नाम, प्रतिष्ठा र प्रसिद्धिमा यहाँका साहित्य, कला, संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरूको ठुलो योगदान छ ।’

उनीहरूको यथोचित सम्मान हुन नभई रहेकोले उपमहानगरपालिबाट सम्मान गर्ने सोच बनाएको उनको भनाई थियो ।

कावा प्रमुख बेघाले भने ‘सम्मानलाई अर्थपूर्ण बनाउन आर्थिक व्यवस्था पनि हुनुपर्छ, त्यसैलाई सम्मानसँग नगद पनि प्रदान गरिने छ ।’ उनले साहित्य,कला,संस्कृति कुनै पनि ठाउँको पहिचान र सभ्यताको जग भएकोले त्यसलाई सम्मान सहित संरक्षण गर्न आवश्यक रहेको बताए ।

२०३३ सालमा राजा वीरेन्द्रबाट उद्घाटन भएको उपमहानगरपालिका परिसरको मोती स्मृति भवन भत्काए पछि मोतीराम भट्टको शालिक बेवारिसे अवस्थामा रहेका प्रसङ्गमा प्रमुख बेघाले नवनिर्मित भवनमा छुटाइएको मोती स्मृति कक्षमा चाँडै नै शालिक स्थापित गरिने प्रतिबद्धता जनाए ।

मोती भवन २ वर्ष अघि तत्कालीन मेयर हर्क साम्पाङको कार्यकालमा भत्काइएको थियो । उपमहानगरपालिकाको नयाँ भवनमा एउटा हल ‘मोती स्मृति हल’ प्रदान गरी मोतीरामको शालिक त्यहाँ स्थापित गर्ने जनाइएको थियो । तर भवन बनिसके पनि मोती स्मृति हल र प्रतिमा स्थापना नहुँदा यसपाली पनि मोती जयन्ती नगरपालिका कर्मचारी एसोसिएसनको हलमा गरिएको हो ।

कार्यक्रममा प्राडा.गोपालप्रसाद भण्डारीले मोतीराम भट्टको जीवन तथा उनले गरेका योगदान बारे चर्चा गरे । उनका अनुसार विभिन्न खण्डमा छुट्टाछुट्टै छरिएका भानुभक्तीय रामायण मोतीराम भट्टले खोजेर एकै ठाउँमा प्रकाशित गरेपछि मात्र नेपाली भाषाको रामायणले नेपाली भाषाको विकासमा योगदान पुर्‍याउन सकेको हो ।

वरिष्ठ कवि बम देवानले साहित्य कला भनेको राष्ट्रको जग भएको बताउँदै प्रश्न गरे ‘यो जग हल्ला राष्ट्र कमजोर हुने कुरा राजनीतिबाट कुर्सीमा पुगेकाहरूले किन नबुझेको ?’ मोती स्मृति भवनमा उहिले देखी नगरपालिकाको हस्तक्षेपका कारण यसको उद्देश्य पुरै हुन नपाएको बताए ।

आफू धरान नगर पञ्चायतको प्रधान पञ्च हुँदा नगरपालिका बाहिर छुट्टा जग्गामा मोती भवन निर्माण गरी हस्तक्षेप मुक्त राख्ने प्रयास गरिएको उनले बताए । २०४६ सालको जनआन्दोलनले पञ्चायत ढलेपछि उनले मोती भवनको योजना कार्यान्वयन गर्न पाएनन् । उपमहानगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत वेदप्रसाद सापकोटाले मोती संस्मरण समितिमा अब नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक भएको बताए ।

मोतीराम युवक कवि थिए, उनको नामको संस्था युवाहरूले सञ्चालन गर्नु पर्ने बताउँदै उनले पुराना पुस्ताले अभिभावकको भूमिका निर्वाह गरेर नेतृत्वमा नयाँ पुस्ता नआए सम्म उद्देश्य पुरा नहुने उनको भनाई छ । प्रसिद्ध कवि यत्री कुन्ता शर्माले भनिन् ‘नयाँ पुस्ता नेतृत्व खोज्दै आए पो नयाँलाई दिनु, नयाँ पुस्ता नेतृत्व गर्न सक्षम नभए सम्म पुरानैले नेतृत्व गर्ने हो, संस्था बन्द राख्न हुँदैन ।’

मोती संस्मरण समितिका पूर्व सचिव हर्ष सुब्बाले मोती भवन र नगरपालिकाको टसल प्रधान पञ्च स्वर्गीय कृष्णकुमार राई देखी बम देवान सम्म चलेको बताउँदै अहिले सम्म यो समस्या विद्यमान रहेको बताए ।

कार्यक्रममा यसपालीको मोती जयन्तीका लागि दिइएको समस्या पूर्ति विषय ‘विपत्तिमा मिली जुटौँ’ शीर्षकमा लेखिएका कविता सहित दर्जन कविहरूले रचना वाचन गरे ।

मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा कविता सुनाउनेहरूमा मच्छिन्द्र खत्री, वेदप्रसाद सापकोटा, गोपाल प्रयास, भीष्म काफ्ले,बम देवान,कुन्ता शर्मा,हिरा रिजाल,गोपाल भण्डारी, प्राडा खेमनाथ दाहाल,मणि राई गोठाले, प्रफुल्ल भण्डारी, जमुना श्रेष्ठ, अम्बिका शाक्य लगायत थिए ।