धरानःकोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तुको चोरी सिकारी अपराध बढेको बारेमा चिन्ता जनाउँदै आरक्ष कार्यालयले आइतबार सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।
छलफलमा आरक्ष सुरक्षा गुल्मका सेनानी प्रकाश खड्काले चोरी,सिकारी नियन्त्रण,बृहत् सैनिक कारबाही पद्धतिका बारेमा प्रकाश पार्दै आरक्ष संरक्षण चुनौतीका विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराए ।
उनले भने ‘सञ्चारकर्मीबाट चोरी सिकारी नियन्त्रणका लागि सुरक्षा फौजले धेरै सहयोग प्राप्त गर्न सक्छ ।’
सञ्चार माध्यमले आरक्ष र वन्यजन्तुको रक्षाका लागि जनचेतना अभिवृद्धिका साथै चारी सिकारी अपराध गतिविधि नियन्त्रणको लागि गर्न सक्ने सहयोगका विषयमा उनले खुल्ला छलफल गरे । ‘वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको संलग्नता र सचेतना’ विषयक कार्यक्रम वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चार माध्यमको भूमिका र प्रभावकारी सञ्चार विषयमा केन्द्रित थियो ।
कार्यक्रममा वन्यजन्तु अपराध नियन्त्रणका विषयमा सञ्चारमाध्यमको भूमिका, जनचेतना अभिवृद्धि तथा संरक्षणसम्बन्धी विषयमा छलफल भएको छ ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले वन्यजन्तु अपराधका सन्दर्भमा विश्वको परिदृश्य, राष्ट्रिय अवस्था, प्रादेशिक अवस्था र कोशी टप्पु वन्यजन्तु आरक्षको अवस्थाका बारेमा प्रकाश पारेका थिए । 
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि वीरेन्द्र गौतमले वन्यजन्तु संरक्षण र अपराध नियन्त्रणका लागि सञ्चारमाध्यमबाट सूचना तथा जनचेतना प्रवाह प्रभावकारी बनाउने सकिने बताए । कार्यक्रममा सञ्चारकर्मीका साथै कोशीटप्पु वन्यजन्तु आरक्षसँग सम्बन्धित सरोकारवालाहरू पनि सहभागी थिए । 
कार्यक्रम अमेरिकी सहयोग तथा नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन एनटीएनसीको सहकार्यमा आयोजना गरिएको बताइएको छ ।