इटहरी : नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा बीपी कोइराला विषयक बिचार गोष्ठीको आयोजना ग¥यो । ११३ औँ बीपी जयन्तीको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्व तथा नेपाली काँग्रेसका नेताहरूले धारणा राखे ।
बीपी कोइरालाको विषयमा बोल्ने सम्पूर्ण वक्ताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा मात्र बाबजुद हुने बताए । लोकतन्त्रको प्राण रहेको अभिव्यक्ति स्वतन्त्रता बीपी कोइरालाको साहस र सङ्कल्पको कारण स्थापित भएको धारणा राखे ।
कार्यक्रमको मुख्य विषय रहेको प्यानल डिस्कसन कार्यक्रममा वक्ताहरू बीपी बारे खुलेर धारणा राखे । पत्रकार विनय बाह्रकोटीले सहजीकरण गरेको कार्यक्रममा वक्ताहरू डाक्टर जगत नेपाल र डाक्टर आनन्द आचार्यले बीपीले लोकतन्त्र स्थापनाको लागि गरेको सङ्घर्षको चर्चा गरे ।
डा. नेपालले बीपीले नेपाली काँग्रेस पार्टीको स्थापनाको आह्वान नै पत्रीकाको माध्यमबाट गर्नुभएको र आफ्नो राजनीतिक बिचारपनि पत्रीका मार्फत नै व्यक्त गर्नुभएको हुँदा प्रेसलाई बीपीले आफ्नो अङ्ग बनाएको उल्लेख गरे । आलोचनात्मक चेतलाई प्रशय दिने र पत्रकारिता मार्फत सरकार वा दलहरूको आलोचना हुनुपर्ने बीपीको धारणा रहेको डा. नेपालले बताए ।
डा. आचार्यले समेत बीपी अभिव्यक्ति स्वतन्त्रता बिना नागरिकको मुक्ति नहुने बुझाइमा भएकाले त्यसतर्फ सचेत रहेको बताए । प्रजातन्त्र प्राप्तिमा मात्र नभएर त्यसपछिका राजनीतिक घटनामा पनि बीपीले नागरिक स्वतन्त्रतालाई मुख्य प्राथमिकता दिएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बीपी कोइरालाकै कारण स्थापित भएको धारणा राखे । बीपी कोइरालाको अठोट र साहसले लोकतन्त्र स्थापना भएको र पद भन्दापनि पद्धतिलाई बीपीले ध्यान दिएको उनले बताए ।
काँग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले वर्तमान सरकार प्रेस स्वतन्त्रता प्रति निर्मम बन्दै गएको टिप्पणी गरे । सरकारले लोककल्याणकारी विज्ञापन देखि सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन दिने नीति लिएर प्रेसको घाटी निमोठेको उनको भनाइ थियो ।








































































