धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिआईसियु सेवामा बेड अभावको कारण समयमा उपचार नपाएर बालिकाको मृत्यु भएको उल्लेख गर्दै धरान-११ वडा बाल सञ्जालले प्रतिष्ठानको अस्पतालमा पिआइसीयु बेड विस्तार गर्न माग गरेको छ ।
सञ्जालले बुधवार प्रतिष्ठानका अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बुलाई बुझाएको ज्ञापन पत्रमा हालै पिआईसियुमा बेड अभावका कारण एक बालिकालाई अन्यत्र पठाइएकोमा उक्त बालिकाको समयमा उपचार नहुँदा मृत्यु भएको उल्लेख गरेको छ ।
प्रतिष्ठानको अस्पतालमा उपचार नपाउँदा भएको उक्त घटनाप्रति ध्यानाकर्षण गराउँदै सञ्जालले प्रतिष्ठानको अस्पतालमा पिआईसियुमा बेड विस्तार गर्न माग गरेको हो ।
सञ्जालले ज्ञापन पत्रमा पिआईसियु बेड सङ्ख्या र उपचार क्षमता विस्तारका साथै पर्याप्त चिकित्सक तथा नर्सको व्यवस्था गर्न पनि माग गरेको छ ।
अस्पतालमा आकस्मिक उपचारका लागि आवश्यक उपकरण–औषधिको उपलब्धता तथा अन्य अस्पतालबाट रेफर भई आउने गम्भीर बिरामीका लागि प्रभावकारी समन्वय र प्राथमिकताको व्यवस्था गर्न माग गरेको छ ।
आकस्मिक कक्ष विस्तार गरी बालबालिकाको उपचारमा देखिएका समस्या र पिआईसियु क्षमताको समीक्षा गर्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ।







































































