इटहरी : नेपाली काँग्रेस धरान उपमहानगर समितिमा सर्वसम्मतिको सम्भावना बढ्दै गएको छ । वडा, नगर देखि क्षेत्रीय समिति सम्म सर्वसम्मत नेतृत्व चयन गर्नेगरि तयारी सुरु गरिएको हो । असोज ३ र ४ गते हुने वडा अधिवेशनपछि नगर र क्षेत्रको विषयमा निर्णय हुने नेताहरूले बताएका छन् ।
१५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनेगरि स्थानीय नेताहरू अग्रसर बनेका हुन् । महासमिति सदस्य पर्वत राईको अग्रसरतामा एकताको प्रयास अगाडी बढेको बताइएको छ । राईको पहलमा बसेको पार्टीका नेताहरूको वृहत् बैठकले एकताको सन्देश दिने निष्कर्ष निकालेको हो ।
कोशी प्रदेश महामन्त्री उमेश थापाले एकताको महाधिवेशनको लागि सबै नेताहरूले व्यक्तिगत इच्छा त्यागेर पार्टीको लागि योगदान गर्नेगरि छलफल भएको बताए । काँग्रेस कमजोर भएको अवस्थामा लोकतन्त्र कमजोर बन्दै गएको स्मरण गराउँदै थापाले एकताको लागि सबैले त्याग गर्नुपर्ने प्रस्ट पारे ।
सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिमा दोहोर्याउने तयारी गरेका सुजेन्द्र तामाङले सहमति भए आफू उम्मेदवार नबन्ने बताएका छन् । नगर सभापतिमा दोहोर्याउने तयारीमा रहेको श्याम पोखरेलले समेत स्थानीय र प्रदेशको निर्वाचनमा एकताबद्ध हुने भए आफू त्यागको लागि तयार भएको बताए । आफ्नो कुनै पनि पदमा महत्त्वाकाङ्क्षा नरहेको बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने सन्देश दिएका छन् ।
वडा देखि नगर र क्षेत्र सम्म नै सर्वसम्मतिको प्रयास थालिएको स्थानीय नेताहरूले बताएका छन् । प्रदेश क्षेत्रीय समितिमा समेत सोही अनुसार सहमति हुने बताइएको छ । धरान उपमहानगर सभापतिमा प्रवीण राई र सुनसरी १ को क्षेत्रीय सभापतिमा तिलक राईमा सहमति भएको छ । सोही नामलाई महाधिवेशनको प्रक्रिया मार्फत टुङ्गो लगाउने गरी नेताहरू एकजुट भएका हुन् ।






































































