इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ५ की ८ वर्षीय बालिका आश्वना चौहानको निधन पछि नेकपा एमालेले छानबिनको माग गरेको छ । सर्प दंशबाट घाइते भएकी बालिकाको उपचारको क्रममा निधन भएको भन्दै एमाले ५ नम्बर वडा कमिटीले निष्पक्ष छानबिन गर्न माग गरेको हो ।

एमाले वडा कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २४ गते सर्पले डसेपछि सामुदायिक सर्प दंश उपचार केन्द्रमा लगिएको तर आइसियु नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको बताएको छ ।

प्रतिष्ठानमा पनि आइसियु शय्या खाली नभएको भन्दै विराटनगर रेफर गरिएको थियो । लामो समय आइसियु बाहिरै राख्नु परेकाले समयमै उपचार नपाउँदा बालीकाको मृत्यु भएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

एमाले वडा कमिटीले घटनाको निष्पक्ष छानबिन गरी उपचारका क्रममा भएका कमजोरीको तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ । इटहरीस्थित सर्प दंश उपचार केन्द्रमा बालबालिकासहित सबै बिरामीका लागि आवश्यक उपचार सेवा, आइसियु र भेन्टिलेटरको तत्काल व्यवस्था गर्नुपर्ने एमालेले जनाएको छ ।