विराटनगर : कलेजबाट घर जाँदै गरेको छात्राहरूतर्फ इशारा गरेको भिडिओ भाइरल भएपछि पक्राउ परेका दुई युवकलाई प्रहरीले दुई दिनपछि आफन्तको जिम्मामा छाडेको छ । उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी अनुसन्धान भने अझै जारी रहेको प्रहरीले जनाएको छ ।
विराटनगर ४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा परवानीपुर–१ घर भई विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार युवकहरूले आफूहरूले युवतीतर्फ इशारा गरेको स्वीकार गरेका थिए। त्यसपछि उनीहरूलाई आफन्तको जिम्मामा छाडिएको हो। उनले भने ‘उनीहरूको अभद्र व्यवहारसम्बन्धी अनुसन्धान भने अझै जारी छ ।’
सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही अघि बढाउनु सकारात्मक मानिए पनि उक्त घटनामा प्रहरी कारबाहीले सामाजिक र मानसिक रूपमा पर्ने नकारात्मक असर बारे सामाजिक सञ्चालमा प्रश्न गरिएको छ ।
प्रहरीले भने महिला तथा बालबालिकासँग सम्बन्धित विषय संवेदनशील हुने भएकाले घटनालाई सबै कोणबाट अनुसन्धान गर्नुपर्ने बताएको छ ।
डिएसपी मिश्रले भने “समाजमा कतिपय अपराधहरू सिकाउने वा सहयोग गर्ने बहानामा पनि हुने गरेका छन् ।’ प्रहरीले यस्ता घट्नालाई सबै कोणबाट अनुसन्धान गर्नैपर्ने भएकाले नियन्त्रणमा लिएर अनुसन्धान गरेको उनको भनाई छ ।







































































