धरान : काठमाडौँ स्थित नेपाल मेडिकल कलेजमा स्वास्थ्यकर्मीहरुमाथि भौतिक आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरूले स्वास्थ्य मन्त्रीलाई प्रतिष्ठानको उपकुलपति मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि चिकित्सकहरूमाथि आक्रमण भएको थियो । उक्त घटनाको विरोधमा त्यहाँका चिकित्सकहरू आन्दोलनरत छन् । उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रतिष्ठानका जेआरहरुले पनि सोमबार उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनमा उत्रिएको घोषणा गरेका हुन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बुझाएको ज्ञापन पत्रमा जेल विथआउट वेलको विगतको मागलाई पुनः उठाइएको छ ।

सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलले नेपाल मेडिकल कलेजमा भएको घटनाका दोषीहरुलाई पहिचान गरेर तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग रहेको बताए ।

यस भन्दा अघि देशभरका आवासीय चिकित्सकहरूले ४८ घण्टाको समय दिए पनि कुनै सुनुवाइ नभएपछि जेठ २० गतेदेखि सम्पूर्ण आवासीय चिकित्सक एवं मेडिकल अफिसरहरूले विरोध स्वरूप कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिने डा. पौडेलले बताएका छन् ।

BPKHISH-JR-Andolan-2 BPKHISH-JR-Andolan-3