धरान : गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको अनुगमन लगत्तै आईतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा तथा अनधिकृत रूपमा प्रयोग भइरहेका सम्पत्तिमाथि तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।
तर अतिक्रमित जग्गा, अनाधिकृत रूपमा प्रयोग भइरहेको सम्पत्तिको विवरण भने सार्वजनिक गरिएको छैन । प्रजिअ घिमिरेले प्रतिष्ठानका कार्यालय प्रमुख डा. ईन्द्र लिम्बुलाई सोमबार प्रतिष्ठान व्यवस्थापनसँग बैठक बस्ने तयारीमा जुटन आग्रह गरेका छन् ।
बैठकले अतिक्रमित जग्गा, अनाधिकृत प्रयोग भैरहेका सम्पत्तीका बारेमा एकिन गर्ने सम्भावना छ । बैठकमा प्रतिष्ठान व्यवस्थापन, स्थानीय प्रशासन र सुरक्षा निकाय सहभागी हुने र उनीहरू बिच जिम्मेवारी बाँडफाँट गरी कार्यान्वयनमा जाने भएको बताइएको छ ।
यसअघि मन्त्रीद्वयले प्रतिष्ठान हाताको १० वटा आवास गृह जीर्ण अवस्थामा रहेको, ७ वर्ष देखि उपभोग विहीन घरहरूको अनुगमन गरेका थिए । अनुगमनकै क्रममा तत्काल कार्यदल गठन गरेर रिनोभेसन गर्ने तयारी गर्न प्रतिष्ठान प्रमुख डा.लिम्बुलाई निर्देशन दिइएको थियो ।
प्रजिअ घिमिरेका अनुसार मन्त्रीद्वयको अनुगमन लगत्तै प्राप्त निर्देशन अनुसार प्रतिष्ठानको गल्फ क्लबलाई आधुनिक रूपमा रेनोभेसन गरी रिक्रिएशन सुविधासहित विकास गरिने जानकारी दिए । उनले भने ‘गल्फ मैदानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने छ ।’
गल्फ क्लबलाई लामो समय बस्ने होलिडे गन्तव्य बनाउन पाँचतारे स्तरको होटेल, स्विमिङ पुल, प्राकृतिक उपचार लगायतका पूर्वाधार निर्माण गर्ने अवधारणामा काम अघि बढाइने घिमिरेको भनाई छ ।
उनका अनुसार प्रतिष्ठानको जग्गा व्यक्ति तथा समूहले बिना अनुमति प्रयोग गरिरहेको गुनासो आएपछि दुवै मन्त्रीले अध्ययन गरी यथाशीघ्र खाली गराउन निर्देशन दिएका हुन ।
मन्त्रीद्वयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, बिपी प्रतिष्ठान पदाधिकारी र गल्फ क्लबका पदाधिकारीको संयुक्त टोलीले स्थलगत अनुगमन र सरोकारवालासँग प्रारम्भिक छलफल गरिसकेको उनले बताए ।
यसअघि मन्त्रीद्वय र बिपी व्यवस्थापन पक्ष बिच ३ घण्टा लामो आन्तरिक छलफल भएको थियो । छलफलमा प्रतिष्ठानभित्रका बेथिति र अनियमितता, एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन, बिरामी ओसार प्रसारमा सक्रिय बिचौलियाको भूमिका, औषधी सिफारिसमा हुने चलखेल तथा अस्पतालको फार्मेसी व्यवस्थापनबारे कुरा भएको प्रजिअ घिमिरेले बताए ।