इटहरी :  इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन व्यक्ती, समूह र राजनीतिक दलहरू केन्द्रित बनेको छ । विगतमा जस्तो भौतिक उपस्थिति र रणनीतिक अभियान नदेखिए पनि चुनाव प्रतिष्ठाको विषय बनेको छ । एकातर्फ नेपाली काँग्रेस र नेकपा एमाले निकट व्यवसायीहरू बिच तालमेल भएको छ भने अर्कातर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन छ ।

काँग्रेस र एमालेका व्यवसायिहरुको तालमेलले नवराज काफ्लेको नेतृत्वको प्यानल चुनावी मैदानमा छ । अर्कातर्फ गायत्री कटवाल नेतृत्वको प्यानलले केही पदमा मात्र उम्मेदवारी दिएको छ । बजारमा चुनावी अभियान आक्रामक बनाएको गायत्री प्यानलले पहिलो महिला अध्यक्ष बन्ने देखि अघिल्लो निर्वाचनमा पराजित भएको मुद्दालाई प्राथमिकता दिएको छ । उनको चुनावी अभियानमा जोडिएका व्यवसायीले काँग्रेस एमालेको गठबन्धनको विरोध गर्दै माहौल बनाइरहेका छन् ।

काँग्रेस एमाले प्रति नागरिक रुष्ट रहेको बुझाइमा रहेको गायत्री पक्षले त्यसैलाई चुनावी अभियान बनाएको हो । अघिल्लो निर्वाचनमा काँग्रेसबाट आधिकारिक उम्मेदवार बनेकी उनी पराजित बनेकी थिइन् । यस पटक जसरी पनि अध्यक्ष नै बन्ने उनको अडानले सहमति नभएको काँग्रेस निकट व्यवसायीहरू बताउँछन् ।

गायत्रीलाई उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य बन्ने प्रस्ताव आउँदा समेत अस्वीकार गरेको उनैले स्वीकार गरेकी छिन् । महासङ्घका केन्द्रीय पदाधिकारी तथा उवासंघ इटहरीका नेताहरूले समेत उनलाई केन्द्रीय सदस्य बन्न प्रस्ताव गरेका थिए । सो प्रस्ताव समेत अस्वीकार गरेर अघिल्लो हारको बदला लिन उनी मैदानमा उत्रिएकी हुन् । मुख्यतः काँग्रेस र एमालेको नेतृत्वले आफूलाई हराउन खोजेको भन्दै त्यसलाई जसरी पनि परास्त गर्ने ध्याउन्नमा छिन् उनी ।

गायत्रीले आफू बाहेक अरूलाई समर्थन नगर्ने भएपछि थप छलफल नगरिएको नवराजको अभियानका एक व्यवसायीले बताएका छन् । काँग्रेस नेताहरूले समेत उनलाई बोलाएर थप छलफल नगरी नवराजलाई उम्मेदवार बनाए । जसले गायत्रीलाई थप चिढ्यायो ।

उद्योग वाणिज्य सङ्घ इटहरीमा नवराज र गायत्रीले सहयात्री बनेर काम गरिसकेका छन् । एक/एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका दुवै जना उवासंघमा लामो अनुभव भएका व्यवसायी हुन् ।

काँग्रेस एमाले विरुद्धमा प्रचारबाजी भएपछि दलहरूले समेत निर्वाचनलाई गम्भीरताका साथ लिएका छन् । चुनावी अभियानलाई भित्रभित्रै नवराजको प्यानलको पक्षमा दलहरूले आन्तरिक लबिङ गरेका हुन् । गायत्रीलाई नेकपा र रास्वपाले समर्थन गरेपछि उवासंघमा दलीय प्रतिस्पर्धा जस्तो देखिन पुगेको छ ।

गायत्रीले जिते काँग्रेस एमालेका प्रभावशाली नेताहरू र पूर्व अध्यक्षहरूको प्रभाव कमजोर हुने देखिएकाले निर्वाचन इगोको लडाइको रूपमा देखिएको छ । अर्कातर्फ काँग्रेस र एमालेको समर्थन पाएका नवराजलाई हराउन सके नयाँ र स्वतन्त्रको प्रभाव बढाउन सकिनेमा गायत्री समर्थकहरू लागेका छन् । त्यसमापनि रास्वपा र नेकपा समर्थित व्यापारी खुलेरै गायत्रीको पक्षमा चुनावी मैदानमा छन् ।

गायत्रीले चुनावी बाचा पत्र त सार्वजनिक गरेकी छिन् । तर अधिकांश बाचा आफ्नो क्षेत्राधिकार बाहिरका र असम्भव देखिएका छन् । स्थानीय तहको क्षेत्राधिकारको विषयलाई उनले आफ्नो बाचा पत्रमा समेटेकी छिन् । केही सुन्दर र महत्त्वाकाङ्क्षी योजनाका साथ गायत्री मैदानमा छिन् । 

नवराजले पनि डिजिटल उवासंघको नीति अनुसार सदस्यता नवीकरण मोबाइलबाटै गर्ने व्यवस्था मिलाउने बताएका छन् । घर बहाल कर देखि घर भाडाको विषयलाई उनले मुद्दा बनाएका छन् ।