धरान : लकडाउन खुकुलो भएसङै सरकारले जिल्ला भित्र सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि अझै सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् ।

धरानको भानुचौकमा केही दिन देखि सार्वजनिक यातायात सञ्चालन गर्नका लागि भनेर यात्रुवाहक बस भानुचौकमा निकाले पनि यात्रु नभेटिएको यातायात व्यावसायीहरु बताउँछन् । केही दिन देखि यात्रुवाहक बस धरान इटहरीको लागि भने फाट्टफुट्ट चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अञ्जन कोइरालाले बताए ।

लकडाउन खुकुलो बनेसङै सरकारले सार्वजनिक यातायातमा तोकिएको मापदण्ड पालना गरेर चलाउन पाउने निर्णय गरेको भए पनि जिल्ला भरी मात्रै सवारी सञ्चालन गर्नु व्यावहारिक नभएको यातायात व्यवसायी महासङ्घ प्रदेश नं. १ का संयोजक सरोज श्रेष्ठले बताए ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर जोखिमरहित रुटमा यात्रुवाहक सवारी सञ्चालन गर्न दिनुपर्ने श्रेष्ठको भनाई छ । तर पछिल्लो समय फेरी स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम रहेको भन्दै सार्वजनिक सवारीमा यात्रा नगर्न भनेकोमा मन्त्रिपरिषद र मन्त्रालयको निर्णय बाझिएको उनले बताए । संयोजक श्रेष्ठले भने “ सरकारले निर्णय गरेको कार्यविधिमा हेरफेर गरेर अगाडी बढ्नुपर्ने यातायात व्यवसायी महासङ्घको माग रहेको छ ।”

धरानको भानुचौकमा पहाडी रुटमा चल्ने ट्याक्सीहरू पनि स्टेण्ड लागेर बसेका छन् भने धरान इटहरीका लागि पनि बस स्टेसनमा लागेका छन् । तर व्यवस्थित तरिकाले भने सवारी चल्न सकेका छैनन् ।

सरकारी निर्णय अनुसार तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी भाडा लिन सक्ने र दुरी कायम हुनुपर्ने र अनिवार्य यात्रुवाहक बसहरूमा ढोकामा स्यानिटाइजर हुनुपर्ने भनिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने निर्णय सरकारले गरेको छ ।

YataYat-1