धरान : पछिल्लो समय देशका विभिन्न स्थानमा फेरि लकडाउन गरेर कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गरिरहेको बेलामा धरानमा भने लथालिङ्ग भएको छ ।

साउनमा लाग्ने विजयपुरको पिण्डेश्वर बाबा धाममा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भएको भए पनि आज सोमबार पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । मन्दिरको मुख्य प्रवेशद्वारमा कोरोना सङ्क्रमणको जोखिम कायम रहेकोले मन्दिर बन्द रहेको सूचना ठुलो फ्लेक्समा टाँगिएको भए पनि भक्तजनको अटेरीपनले पिण्डेश्वर मन्दिरमा भक्तजनको भिड बढेको पिण्डेश्वरबाबा धाम समितिका अध्यक्ष विकास बनेपालि बताउँछन् ।

पिण्डेश्वर मन्दिरमा धरानका मात्रै होइन धेरै टाढा टाढाबाट मानिस आउने भएकोले पिण्डेश्वर मन्दिरको भिडले धरानमा मात्रै होइन विजयपुर क्षेत्रमै जोखिम बढाएको विजयपुरबासी प्रेम पराजुलीको भनाई छ ।

विश्वमा महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण धरान उपमहानगरपालिकाकै नजिकैका स्थानहरू इनरुवा, विराटनगर जस्ता स्थानीय पालिकाहरूले फेरि लकडाउन र अत्यावश्यक सेवा बाहेकका मानिसको भिडभाड हुने कार्यमा रोक लगाइरहेको बेलामा धरानमा अत्यन्तै ठुलो लापर्वही भएको उनी बताउँछन् ।

बोलबंम मेला नलगाउने भनेर असारको अन्तिम तिर बैठक बसेर निर्णय गरे पनि पिण्डेश्वर मन्दिर बन्द रहेको भन्ने प्रभावकारी सूचना जारी नभएकोले यस्तो भएको बताइन्छ । धरान उपमहानगरपालिकाले एक दुई दिन माइकिङ गर्‍यो र प्रहरीले पनि केही नगरेको बताइएको छ । कोरोनाको जोखिमका कारण यस्तो लापर्वही भयो भने भोलि धरानमा ठुलो जोखिम आउन सक्ने स्वास्थ्य विज्ञहरुकोे भनाई छ ।

लकडाउन खुकुलो भएसँगै धरानमा मास्क नलगाई हिडने र सरकारले तोकेको सामान्य मापदण्ड पनि पुरा नगरी बजार पसल खोली रहेको र भिडभाड बढेकोले धरानमा जोखिम त थियो नै । अझ साउने सोमबारका दिन पिण्डेश्वरमा भक्तजनहरूको भिडभाडले अर्को जोखिम बढेको छ ।

पिण्डेश्वर बाबा धाममा बोलबंम मेला नलगाउने भन्ने निर्णय भएसँगै मन्दिरका अगाडीका फूलपाती बेच्ने सबै पसलहरू बन्द गर्ने निर्णय भए पनि भक्तजन आउने भएपछि ती पसलहरू पनि खुलेका छन् । प्रहरीले निर्णयको कार्यान्वयनमा चासो बढाउँदै थप प्रहरी परिचालन गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

Pindesowr-1