सिताराम चन्द्रवंशी समीर
वराहक्षेत्र सुनसरीको रामधुनी–४ स्थित ऐतिहासिक रामधुनी बन हिजोआज केवल गाई चराउने ठाउँ मात्र नभई,धार्मिक आस्थासँगै लोपोन्मुख रैथाने प्रजातिका गाईको संरक्षणको जीवन्त संगमस्थल बनेको छ ।
दूधको लागि गोपाल व्यवसायीक र आधुनिकीकरण भएपछि मुलुकमा स्थानीय रैथाने प्रजातिका गाई पारिवारिकरूपमा पालन गर्ने चलन हराउँदै गएको छ । धार्मिक आस्थाका कारण पनि पालन हुँदै आएका रैथाने गाई ग्रामीण क्षेत्रमा समेत छाडा छोडिदिने गरिएको छ ।
रामधुनी मन्दिरमा परिसरमा समेत छोडेर जाने गरेका गाईहरूको सङ्ख्या बढेपछि रामधुनी बाबा वन खण्डी गुठी व्यवस्थापन समितिले गौमाताको संरक्षणका लागि गौशाला स्थापना गरेको हो । समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार गौशालामा हाल माउ, बाछा र बाछी गरी २०० को सङ्ख्यामा गाई संरक्षित छन् ।
रामधुनी मन्दिरको घण्टीसँगै आँगनमा बिहानैदेखि गाईका माउ–बाछाको आवाजले बनाउने मनमोहक वातावरण अलौकिक लाग्नै श्रद्धालुहरू बताउँछन् । रामधुनी मन्दिरले यसै विशेषता पवित्र तीर्थस्थलको पहिचान बनाएको उनीहरूको भनाई छ ।
गौशालालाई २०७२ सालयता पशु स्वास्थ्य जाँच सहित सेवा सञ्चालन गरी व्यवस्थित बनाइएको छ । गौशालामन गाईहरूको स्वास्थ्य अवस्थामा चेकजाँच, बासस्थनको सुविधा व्यवस्थित गरिएको हो । रामधुनी वनमा गाईको चरन क्षेत्रको पर्याप्त ठाउँ भएकोले गौ संरक्षण कार्य व्यवस्थित बनाइएको अध्यक्ष कार्कीले बताए ।
उनले भने ‘सुरक्षित वासस्थान, पर्याप्त चरन क्षेत्रको सुविधा, हेरचाह र नियमित स्वास्थ्य जाँचले गर्दा गाईको सङ्ख्यामा मात्र वृद्धि भएको छ ।’
उनका अनुसार गौशालाको व्यवस्थित सञ्चालनबाट प्रभावित भएर मन्दिरमा आउने श्रद्धालुहरूले आफ्ना गाई गोशालालाई दान गर्ने गरेका छन् । उनले भने ‘कतिपयले आफ्ना गाई मन्दिर परिसरमा छोडेर जाने गरेका छन् ।’
रामायणमा वनवासको कथासँग जोडिएको रामधुनी नगरमा गाईको संरक्षणले नाम अनुसार ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले रामधुनि मन्दिरको गरिमा थपेको उनी बताउँछन् ।
गौशालामा पछिल्लो समय टाढा टाढाबाट श्रद्धालु र पर्यटक अवलोकन गर्न आउने गरेका छन् । उनिहहरुका लागि गौशाला विशेष आकर्षणको केन्द्र बनेको छ । उनीहरू मन्दिरमा पूजा–आराधना सहित दुई सय गौमातालाई नजिक बाट निहालेर, सेवा गरेर फर्किने गरेको अध्यक्ष कार्की बताउँछन् ।








































































