धरान : महिला लागूऔषध दुर्व्यसनीको उपचार पुनर्स्थापनाका लागि आसरा सुधार केन्द्रमा महिला सुधार केन्द्र पनि निर्माण गर्नु २८ धुर जग्गा खरिद गरिएको छ ।
उक्त जग्गामा महिला सुधार केन्द्र भवन निर्माणको लागि नेपाल प्रहरी श्रीमती सङ्घले सबैसँग आर्थिक सहयोगको आग्रह गरेको छ ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धे अन्तर्राष्ट्रिय दिवस मनाउन शुक्रवार आयोजित कार्यक्रममा सञ्चालक समिति अध्यक्ष शिला बज्राचार्यले भनिन् ‘‘महिला लागू औषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएकाले उनीहरूका लागि छुट्टै उपचार तथा पुनर्स्थापना केन्द्र समयको आवश्यकता बनेको छ ।’ 
आसरा सुधार केन्द्रमा धरानका १०० भन्दा बढी महिलाले आजीवन सदस्यका रूपमा योगदान गरिसकेका छन् ।
भवन निर्माणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले नेपाल प्रहरी श्रीमती सङ्घको सहयोग महत्त्वपूर्ण रहने उनले बताइन ।
उद्योग वाणिज्य सङ्घ सुनसरीका पूर्व अध्यक्ष सरोज श्रेष्ठले आसारा सुधार केन्द्रले उपचार, परामर्श र पुनर्स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
अन्य सुधार केन्द्रको तुलनामा आसाराको नतिजा राम्रो भए पनि अझै सन्तोषजनक अवस्था पुग्न बाँकी रहेको उनको भनाइ थियो ।
श्रेष्ठले केन्द्रको पूर्वाधार विकासमा पनि सुधार भइरहेको जानकारी दिए। खानेपानी समस्याका कारण वार्षिक १० लाख रुपैयाँभन्दा बढी खर्च हुने अवस्था रहेकामा कोशी प्रदेश सरकारको सहयोगमा बोरिङ निर्माण गरी खानेपानी व्यवस्थापन गरिएको उनले बताए ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले लागू औषध नियन्त्रणका लागि कोशी प्रदेश प्रहरी सङ्गठित सञ्जालविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको बताए । सीमावर्ती क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर लागू औषध ओसारपसार र दुर्व्यसन नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो।
प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नबिना खत्री कार्कीले युवाहरूलाई लागू औषध दुर्व्यसनबाट टाढा रहन आग्रह गर्दे अनुशासित र सकारात्मक जीवनशैली अपनाउन आग्रह गरिन । आसारा सुधार केन्द्रले आफ्नै स्रोतबाट जग्गा खरिद गरेको उल्लेख गर्दै उनले निकट भविष्यमै महिला सुधार केन्द्र निर्माण हुने विश्वास व्यक्त गरिन ।