इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्ष भन्दा २ करोड ९२ लाख ३० हजार कमको बजेट सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षमा २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याएको इटहरीले आगामी आर्थिक वर्षको लागी २ अर्ब ५२ करोड २८ लाख ७० हजारको अनुमान गरिएको छ । 
बुधवार सम्पन्न १८ औँ नगर सभामा उपप्रमुख सङ्गीता कुमारी चौधरी द्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । राजस्व सङ्कलन र कर प्रशासनलाई इटहरी उपमहानगरपालिकाले गम्भीरताका साथ लिएको छ । 
आगामी आर्थिक वर्षको लागि सङ्घीय समानिकरण अनुदान २८ करोड ७३ लाख, सङ्घीय सशर्त अनुदान चालु खर्च तर्फ ४९ करोड ७० लाख र सङ्घीय सशर्त अनुदान पुँजीगत खर्च तर्फ ४९ करोड १८ लाख अनुमान गरिएको छ ।
सङ्घीय सशर्त विशेष अनुदान ५ करोड र प्रदेश समानीकरण अनुदान २ करोड ७५ लाख ५० हजार प्राप्त हुने उपप्रमुख चौधरीले बताइन् । चौधरीका अनुसार प्रदेश सशर्त अनुदान चालु खर्च तर्फ १ करोड ३७ लाख ७० हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च तर्फ ३ करोड २३ लाख आम्दानी हुने भएको छ । 
सङ्घीय राजस्व बाँडफाँड १९ करोड ९८ लाख ५७ हजार, प्रदेश राजस्व बाँडफाँड सवारी कर २ करोड २२ लाख ५३ हजार, स्थानीय राजस्व बाँडफाँड (मालपोत) २५ करोड, आन्तरिक राजश्व ५६ करोड ३० लाख ४० हजार र नगर विकास कोषबाट ऋण ८ करोड ८० लाख प्राप्त हुने उनको भनाइ छ ।
त्यसमध्ये चालु तर्फ ९४ करोड ८३ लाख ७० हजार अर्थात् कूल बजेटको ३७.५९ प्रतिशत खर्च हुने भएको छ ।  वित्तीय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानीमा १ करोड २४ लाख र पुँजीगत तर्फ १ अर्ब २९ करोड ४६ लाख खर्चको व्यवस्था मिलाइएको छ । विषयगत खर्चमा २६ करोड ७५ लाख विनियोजन गरिएको छ ।