धरान : संवैधानिक तथा कानुनी व्यवस्था अनुसार स्थानीय तहले नगर सभामा वार्षिक बजेट प्रस्तुत गर्नु पर्न आज बुधवार असार १० गते अन्तिम दिन हो । धरान उपमहानगरपालिकाले आज नगर सभा बोलाएर आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्न सकेन ।
तोकिएको मितिमा बजेट ल्याउन नसक्नुको कारण कार्यपालिकामा बजेटबारे उत्पन्न अन्यौलता हुनसक्छ भने बजेट ल्याउनै नसके पछि अब कहिले आउँछ भन्ने कुराको अन्योल बढेको छ । बजेट नआउँदा धरान पुनः बजेटीय ‘डेडलक’को अवस्थामा पुग्ने जोखिम बढेकोमा सरोकारवालाहरूमा चासो बढेको छ ।
राजनीतिक असहमतिका कारण चालु आर्थिक वर्षको बजेट समेत असोजमा मात्रै पारित भएको थियो । असहमतिको त्यही निरन्तरताले आगामी वर्षको बजेट पनि निर्धारित समयमै नआउने सङ्केत देखिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र साउन १ गतेदेखि कार्यान्वयन हुने गरी पारित गरिसक्नुपर्ने व्यवस्था छ।
कानुनी व्यवस्था अनुसार स्थानीय तहलाई फागुन मसान्तभित्र सङ्घीय सरकार र चैत मसान्तभित्र प्रदेश सरकारले वित्तीय हस्तान्तरणको सीमा तथा मार्गदर्शन उपलब्ध गराउनुपर्ने प्रावधान छ । त्यसपछि वैशाख १० गतेभित्र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गरी वैशाख १५ गतेभित्र वडाहरूलाई बजेट सिलिङ उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको दाबी गरे । उनले भने ‘चाँडै बजेट आउँछ बजेटमै छलफल भइरहेको छ, यस पटक वास्तविक आय–व्ययको आधारमा बजेट ल्याउँछौँ ।”
धरान–१८ का वडाध्यक्ष, नेपाली काँग्रेस संसदीय दलका नेता प्रवीण राईले विगतमा पनि बजेट समयमा नआएकोले एक दुई तिन तलमाथी हुन अस्वाभाविक नहुने बताए । उनले भने ‘यसपाली यथार्थपरक बजेट ल्याउने तयारीमा हामी लागेका छौँ ।’
अघिल्लो बजेटहरू पनि धरानमा बजेट समयमा नआएका तर यसपाली समयमै आउने उनको भनाई छ । उनले भने ‘अघिल्लो नगरप्रमुख हर्क साम्पाङको कार्यकालभन्दा यस पटक छिट्टै आउँछ ।’
हर्क साम्पाङको पालामा १९ पटक सम्म छलफल हुँदा पनि बजेट बन्न सकेको थिए । अहिले दुई चरणको मात्र छलफल भएको उनले बताए । वास्तविक आयको आधारमा बजेट बनाउँदा अघिल्लो घाटा बजेटलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विस्तृत छलफल भइरहेको उनको भनाई छ ।
कार्यपालिका सदस्य एमालेका सचेतक अनुप देवानले बजेट प्रक्रिया नै ढिलो सुरु भएकाले बजेट प्रस्तुति प्रभावित भएको बताए । उनका अनुसार अहिले पनि छलफल जारी रहेकाले एक साताभित्र बजेट सार्वजनिक गरिनेछ ।
वडा १५ का अध्यक्ष एमाले संसदीय दलका नेता नरेश इवरामसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल सम्पर्क हुन सकेन ।
लगातार दोस्रो वर्ष पनि निर्धारित समयमै बजेट ल्याउन नसक्ने अवस्था देखिएपछि धरान उपमहानगरपालिकाको वित्तीय अनुशासन, योजना कार्यान्वयन क्षमता र सेवा प्रवाह कमजोर बन्ने निश्चित छ ।