धरान : पूर्वको धार्मिक पर्यटनमा नयाँ आकर्षण थप्न बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा मोनोरेल सहितका योजनाहरू सार्वजनिक गरेको छ ।
बराहक्षेत्र नगरपालिका–१ सप्तोकोशी किनार गुप्तवराह क्षेत्रबाट बराहक्षेत्र मन्दिर सम्म प्रस्तावित मोनोरेलको प्रारम्भिक सम्भाव्यता प्राविधिक सर्भे सम्पन्न भएको छ ।
सम्भाव्यता अध्ययन कोशी प्रदेश सरकारले २४ लाख रुपैयाँ बजेटमा भएको हो ।प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा मोनोरेल परियोजनामा ३ करोड रुपैयाँ छुट्याएको छ । यसबाट बराहक्षेत्र नगरपालिका उत्साहित छ। नगर प्रमुख रमेश कार्कीका अनुसार मोनोरेल सञ्चालन पूर्वको धार्मिक पर्यटनलाई बराहक्षेत्र केन्द्रित गर्न नयाँ आकर्षण बन्न सक्छ । 
यसले कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार, मुन्दुम ट्रेल प्रवर्धन गर्ने, ‘वराहक्षेत्र–धरान–इटहरी धार्मिक पर्यटन सर्किट’ विकास गर्ने नगरपालिकाको योजनालाई सघाउने उनको भनाई छ । पर्यटन सम्बन्धी योजनाहरू नगर प्रमुख कार्कीले नगर सभामा प्रस्तुत गरेका हुन ।
धार्मिक तथा पर्यटकीय महत्वको गुप्तवराह धाम निकै पुग्न कठिन भौगोलिक अवस्थितिमा छ । सप्तकोशी नदी किनारको सोही अवस्थालाई मध्यनजर गरी मोनोरेलको अवधारणा अघि सारिएको हो ।
पण्डित योगेश भण्डारीका अनुसार बराहक्षेत्र नगरपालिका सहित गुप्तवराह क्षेत्रको पहलमा करिब एक वर्षअघि नै मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक गत जेठ २४ गते कोशी प्रदेश सरकार र काठमाडौँका प्राविधिक टोलीसँगै मोनोरेल विज्ञ गुणराज ढकालको टोलीले स्थलगत अध्ययन गरेको हो ।
टोलीमा दक्षिण कोरियामा बस्दै आएका नेपाली प्राविधिक विनोदकुमार पनि सहभागी रहेका भण्डारीले बताए । टोलीले मोनोरेल निर्माणको सम्भाव्यता, लागत, संरचनागत आवश्यकता तथा सञ्चालन मोडेलबारे गरेको अध्ययन, डिजायन, लागत अनुमान भने सार्वजनिक भएका छैन ।  योगेश भण्डारीले टोलीमा सहभागी रहेका मोनोरेल विज्ञ गुणराज ढकाललाई उद्धृत गर्दै भने ‘प्राविधिक टोलीले त्यस क्षेत्रमा मोनोरेल निर्माण सम्भव रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।’ टोलीले गुप्तवराह क्षेत्रको भौगोलिक बनावट मोनोरेल सञ्चालनका लागि उपयुक्त रहेको जनाएको हो ।
भण्डारीले भने ‘अब विस्तृत परियोजना प्रतिवेदन डीपीआर बन्नु प¥यो र लगानीको सुनिश्चितता भए   गुप्तवराहमा सञ्चालन हुने मोनोरेल नेपालकै पहिलो परियोजना बन्छ ।’
गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार वैशाख महिनादेखि सम्भाव्यता अध्ययन तथा प्राविधिक सर्भे सुरु गरिएको हो। हाल प्राविधिक टोलीले स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा प्राविधिक विश्लेषण गरिरहेको छ ।
अध्ययन सम्पन्न भई विस्तृत प्रतिवेदन तयार हुन अझै एकदेखि दुई महिना लाग्ने अनुमान गरिएको उनले बताए । गुप्तवराह निर्माण समितिले मोनोरेल योजनालाई मन्दिर निर्माण परियोजनाकै महत्त्वपूर्ण हिस्साका रूपमा अघि बढाएको जनाएको छ ।