बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाले शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सूचना प्रविधि (आईटी) सम्बन्धी पाँचदिने क्षमता विकास तालिम सञ्चालन गरेको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीका अनुसार नगरभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयका स्रोत शिक्षकहरूलाई लक्षित गरी विषयगत क्षमता विकास अन्तर्गत तालिम आयोजना गरिएको हो। तालिम प्रविधिमैत्री शिक्षक समाज, वराहक्षेत्रको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ।

वडा नं. १ देखि ५ सम्मका शिक्षकहरूका लागि चतरास्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा तथा वडा नं. ६ देखि ११ सम्मका शिक्षकहरूका लागि चक्रघट्टीस्थित स्रोत केन्द्रको सभाहलमा तालिम सञ्चालन गरिएको छ। सोमबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ।

परियोजनामा आधारित प्रत्यक्ष प्रशिक्षणमार्फत शिक्षकहरूलाई सूचना प्रविधिको प्रभावकारी प्रयोग, शिक्षण–सिकाइ प्रक्रियामा डिजिटल उपकरणको उपयोग तथा आधुनिक शिक्षण विधिबारे सीप प्रदान गरिने शाखा प्रमुख भारतीले बताए। उनका अनुसार तालिमले शिक्षण प्रक्रियालाई थप आधुनिक, सहज र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।

तालिममा कम्प्युटरको आधारभूत ज्ञान,इन्टरनेट तथा अनलाइन स्रोतहरूको प्रयोग, डिजिटल सामग्री निर्माण, स्मार्ट कक्षा सञ्चालन, शैक्षिक एप तथा डिजिटल प्लेटफर्मको उपयोग, साइबर सुरक्षा तथा सुरक्षित इन्टरनेट प्रयोगलगायत विषय समेटिएका छन्। साथै सूचना प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षण विधिबारे पनि प्रशिक्षण दिइनेछ।

प्रविधिमैत्री शिक्षक समाज, वराहक्षेत्रका प्रशिक्षकहरू लक्ष्मीप्रसाद लिम्बु, लालु चौधरी, राजकुमार खड्का, तुलसी श्रेष्ठ, दीपक काफ्ले र उत्तमकुमार सुवेदीले सहजीकरण गरिरहेका छन्।

चतरा केन्द्रमा आयोजित तालिममा २२ जना र चक्रघट्टी केन्द्रमा आयोजित तालिममा ३६ जना गरी कुल ५८ जना शिक्षकहरूको सहभागिता रहेको नगरपालिकाले जनाएको छ। तालिमबाट शिक्षकहरू प्रविधिमैत्री बन्नुका साथै विद्यार्थीको सिकाइ गुणस्तर सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।