धरान : धरानका पुराना व्यवसायी विजयकुमार डागाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजो बिहीबार दुःखद निधन भएको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष डागा ८४ वर्षका थिए । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि बुधवार अबेर राती वीपी प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको सङ्घका कार्यसमिति सदस्य विष्णु बरालले बताए ।

डागा मुटु रोगी थिए । यसअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । हिजो राती अचानक मुटुको समस्याका कारण वीपी प्रतिष्ठान पुर्‍याएको बताइएको छ । व्यवसायी डागा समाजसेवी पनि थिए ।

उनको कार्यकालमा उद्योग वाणिज्य सङ्घको मिलेनियम सभाहलको निर्माण भएको थियो । उनी धरानको व्यापारिक, सामाजिक र राजनीतिक सवालहरूमा स्पष्ट वक्ता थिए ।

पछिल्लो समय राजनीतिमा डागा माओवादी निकट थिए । बदलिएको राजनीतिमा उनी नेपाली कम्युनिस्ट पार्टी प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य थिए । डागाको परिवारमा श्रीमती, २ छोरा, १ छोरी छन् ।