धरान : धरानमा आज कोरोना संक्रमित ३२ वर्षीय महिला धरान उपमहानगरपालिकाको वातावरण शाखामा कार्यरत महिला कर्मचारी भएको पुष्टि भएको छ ।

ती महिला कर्मचारीको १० वर्षीय छोरामा हिजो नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती महिला कर्मचारीको सासूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी आज नै धरान ४ का एक जना १० वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ । उनी कसरी संक्रमित भए ? भने बारेमा थप जानकारी नआएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् । यसै गरी यता धरान १० का १ जना ३१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी धरान १३ का कोरोना संक्रमित युवाले जिम गर्ने धरान ८ को क्रन्च जिम हलमा जिम गर्न जाने गरेको बताइएको छ ।

आज कोरोना संक्रमित भएकाहरू सबै रेनडोम मास टेस्टिङले समुदाय स्तरमा गरेको मास टेस्टिङको पहिलो दिन १ सय ३० जनाको लिइएको स्वाबको नमुनाकै क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको महाशाखा प्रमुख मेहेताले बताए । मास टेस्टिङको क्रममा धरानमा यो सँगै ६ जनामा कोरोना संक्रमित भेटिएको हो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या पनि ४६ पुगेको छ ।

धरान उपमहानगरपालिकाको वातावरण शाखामा कार्यरत महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि वातावरण शाखाका अरू कर्मचारीहरूको पनि पिसिआर परीक्षण गर्ने उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले बताए ।