धरान : धरान १४ दुईधारेमा रुखको हाँगाले किचेर एक बालिकाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बिहीबार मध्यान्ह दन्तकाली मन्दिरबाट आमा २६ वर्षीय विष्णु राई दुई छोरीहरू नबिसा राई र एबिसा राईसँग दन्तकाली मन्दिरबाट झर्दै गर्दा सडक किनारामा रहेको खरानेको सुकेको हाँगा झरेर उनीहरूलाई किचेको थियो ।

उनीहरू तीनै जनाको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो । सानी छोरी ३ बर्षीया एबिसा राईको अवस्था गम्भीर भएकोले बीपीमा उपचार हुन नसके पछि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको थियो ।

न्युरो अस्पतालमा उपचारको क्रममा ३ वर्षीय बालिका एबिसा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । घाइते आमा विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नबिसा राईको पनि सामान्य रहेको र उनीहरू दुबै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

धरानको सिंहदेवी चौक देखि विजयपुर चौक सम्मको सडकको किनारका सुकेका रुखहरूको हाँगा निरन्तर पानी परिरहेकोले मक्किएर झर्ने क्रम जारी रहेकोले सो बाटोमा हिँडडुल नगर्न १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले आग्रह गरेका छन् ।

मक्किएका रुखका हाँगा र रुखनै कटान गर्नका लागि बन कार्यालयसँग समन्वय भइरहेको तर पानीले अवरोध गरेको पनि अध्यक्ष भट्टराईले बताए ।