धरान : यसपटक कोरोना महामारीका कारण धरानका कुनै पनि मठमन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति हुन पाएन ।

उपस्थिति भए पनि मन्दिरको गेट सम्म पुगेर दर्शन गरे भने कोहीले गेटमै बलि पनि दिए । तर धरानको विजयपुरको मुख्य शक्तिपिठ दन्तकाली मन्दिरमा भने सर्वसाधरणका लागि ढोका खोलिएन । नियमित नित्य पुजामै सीमित रह्यो ।

यसो हुनुको मुख्य कारण कोरोना सङ्क्रमणको जोखिम हो । विजयपुरका मठ मन्दिरमा पातालै भक्तजन आए पनि कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै असतोमा सद्गतमय एएसजी धरानले हरेक दिन मन्दिरमा साँझ पख स्यानिटाइजर गरिरहेको छ ।

फूलपातीको दिन देखि दैनिक साँझ पख मन्दिर परिसरमा स्यानिटाइजर गर्दै आएको असतोमा सद्गतमय एएसजी धरानले कोरोना सङ्क्रमण नहोस् भनेर यो अभियानको थालनी गरेको सो समूहका सचिव सुधाकर पोख्रेलले बताए ।

धरान १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको सहयोगमा स्यानिटाइजर गर्ने केमिकल उपलब्ध भए पछि आफूहरूले कोरोनाको सङ्क्रमणबाट मन्दिरमा आउनेहरूलाई जोगाउन यो अभियान थालिएको सचिव पोख्रेलको भनाई छ ।

असतोमा सद्गतमय एएसजी धरानमा धरानका केही युवा विद्यार्थीहरू सम्मिलित रहेका छन् । यो समूहले धरानमा विभिन्न सामाजिक काममा पनि सहभागिता जनाउँदै आएका छन् भने सामाजिक काममा पनि सक्रिय रहेर काम गर्दै आएका छन् । यो युवाहरुको समूहलाई स्यानिटाइजर गर्ने केमिकल उपलब्ध गराएर धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले ठुलो गुन लगाएको समूहका अध्यक्ष निशान नेपालले बताए ।

असतोमा सद्गतमय एएसजी धरानले विजयपुरको अलि बढी भिड भाड हुने मन्दिर दन्तकाली मन्दिर लगायत विजयपुरमा रहेका अरू मन्दिरहरू बुढासुब्बा, पिण्डेश्वरीमा पनि स्यानिटाइजर गर्ने जनाएको छ । सरकारले सर्वसाधारणलाई मन्दिरमा नआउनु भनेको भए पनि सर्वसाधारण आफै मन्दिरमा आइपुग्ने गरेको पाइएकोले कोरोनाको सङ्क्रमण नहोस् भनेर यस्तो कामको थालनी गरिएको बताइएको छ ।

दसैँ, तिहार र छठ पर्व सम्म यो कार्यलाई निरन्तरता दिने असतोमा सद्गतमय एएसजी धरानका सचिव पोख्रेलले बताए । अझ पनि यो हाम्रो अभियानमा हामीलाई साथ सहयोग मिल्यो भने अरू पनि सामाजिक काममा लाग्ने असतोमा सद्गतमय एएसजी धरानले जनाएको छ । यो अभियानको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका हुन् ।