धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत इटहरीका कोरोना सङ्क्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार इटहरी उपमहानगरपालिका वडानं. ४ निवासी ७९ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको हो ।

गएको कार्तिक ६ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको आइतबार मात्रै बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार अपराह्न ४ ः ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 प्रदेश १ मा आइतबार ५५७ जना कोरोना सङ्क्रमित थपिए 

प्रदेश १ मा आइतबार ५५७ जना कोरोना सङ्क्रमितहरू थपिएका छन् ।

थपिएका मध्ये ३५८ जना पुरुष छन् भने १९९ जना महिला छन् । प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएकाको कुल सङ्ख्या १६ हजार ९९० जना पुगेको छ ।

ती मध्ये ७ हजार ९६१ जना डिस्चार्ज भइसकेका छन् भने १५० जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।