केराबारी : मोरङको केराबारी गाउँपालिका कृषि तथा सहकारी शाखाले विभिन्न कार्यक्रम मार्फत व्यावसायिक कृषकलाई सहयोग बढाए पछि कृषकहरूमा उत्साह बढेको पाइएको छ ।
मोरङ जिल्लाको केराबारी गाउँपालिका तराई र अधिकांश पहाडी इलाकामा समेटिएको गाउँपालिका भएकाले यस पालीकामा कृषिका अनेकौँ सम्भावना देखिएका छन् ।
तराइमा उत्पादन हुने कृषि उपज देखि उच्च पहाडी क्षेत्रमा उत्पादन हुने जडीबुटी सम्म एउटै गाउँपालिका भित्र पाउन उत्पादन गर्न सकिने सम्भावना यस पालीकामा देखिएको छ ।
कृषि विकासका लागि गाउँपालिकाको विविध सम्भावनाहरू पछ्याउँदै पालिका भित्रका विभिन्न सम्भावनाहरूमा फरक फरक कृषि उपज उत्पादन गर्ने व्यावसायिक कृषकहरूलाई कृषि शाखामार्फत विभिन्न शीर्षकमा सहयोग उपलब्ध गराउँदै आएको पालीकाले जानकारी दिएको छ ।
प्लास्टिक पोखरी, थोपा सिँचाइ, टनेल निर्माण, आधुनिक मेसिन उपकरण देखि मल बिउ किसानलाई सहज रूपमा वितरणका कार्यक्रमहरू सञ्चालनमा ल्याए सँगै कृषकहरू लाभान्वित भएका छन् । यसको ज्वलन्त उदाहरणको रूपमा केराबारी गाउँपालिका वडा नं. ३ फूलबारी चोकका गोविन्द श्रेष्ठ पनि एक हुन ।
ब्यवासायिक कृषक बनेका गोविन्द श्रेष्ठ वैदेशिक रोजगारीको सिलसिलामा ओमन गएर नौ वर्ष सम्म व्यावसायिक कृषि क्षेत्रमै बिदेसी सिप र अनुभव वटुलेका कृषक हुन ।
साउदी अरबको भोगाई पछि ओमन पुगेका गोविन्दले कृषिमै काम गर्ने मौका पाए । उनले देशमा रेमिटेन्स मात्र भित्र्याएनन् कृषिका आधुनिक सँगै नवीनतम प्रविधिको राम्रो ज्ञान आर्जन गरी अहिले आफ्नै देशमा केही गरेर देखाउने सपना साकार पारिरहेका छन् ।
स्वदेशमै केही गर्न श्रीमतीको राम्रो साथ र सहयोग पाएका कृषक श्रेष्ठले विदेश वाट सिप सँगै ल्याउन सम्भव हुने सम्मका औजार उपकरणहरू समेत भित्र्याएका छन् ।

सुरुमा व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरेका श्रेष्ठले नराम्रो नोक्सानीको अनुभव समेत लिइसकेका छन् । त्यस पछि पनि विचलित नभई व्यावसायिक तरकारी खेतीमा होमिएका गोविन्द, मेहनत गरियो भने सफल भइन्छ तर सानातिना असफलतामा हरेस खानु नहुने तर्क गर्छन् ।
कृषकले उत्पादन गरेका तरकारीजन्य वालिहरूले बजार नपाउने समस्यामा आफू सहमत नभएको बताउने उद्यमी श्रेष्ठको बारीमा यति वेला टमाटर, फुल गोभि, स्क्वास फर्सी, करेला, अकबरे खुर्सानी उत्पादन भइरहेको छ । वालिमा रासायनिक विषादी प्रयोगका सावालमा युरिया समेत आफूले प्रयोग नगरेको दाबी गर्ने श्रेष्ठ जैविक विषादी र मलमै निर्भर रहेको बताउँछन् ।
कृषकहरूले टनेलमा व्यावसायिक तरकारी खेती गर्न गाह्रो हुने बताउने गरेको सुनिएता पनि कृषक श्रेष्ठ भने टनेलमै काम गर्न सजिलो र कम खर्च लाग्ने तर्क राख्छन् । सुरुमा ७ हजार लगानीमा सुरु गरेको व्यावसायिक तरकारी खेतीमा टनेल निर्माण, थोपा सिँचाइ, प्लास्टिक पोखरी लगायतका भौतिक पूर्वाधार थप गर्दै अगाडि बढेका छन् ।
२ छोरी, एक छोरा र श्रीमान्, श्रीमती गरी पाँच जनाको परिवारको सम्पूर्ण खर्च व्यावसायिक तरकारी खेती वाटै उठ्ने गरेको बताउने गोविन्दले नेपालमा उन्नत जातका तरकारीको बिउ विजन नपाइएकोमा दुःख व्यक्त गरे । आफूले ओमन वाट आउँदा ल्याएको काँक्राको बिउको उदाहरण दिँदै उनी भन्छन् “ओमन वाट ल्याएको काँक्रा एउटै हाँगामा ६ देखि आठ ओटा सम्म फल्यो, खाँदा स्वादमा पनि फरक छ ।” केराबारी गाउँपालिका वाट थोपा सिँचाइ र प्लास्टिक पोखरीमा अनुदान पाएका श्रेष्ठ सँग १० वटा प्लास्टिक टनेल छन् ।
केराबारी गाउँपालिका कृषि शाखाले कृषकहरूको क्षमता अभिवृद्धि सँगै अनुदानमा आधुनिक मेसिन औजार अनुदानमा वितरण गर्ने कार्यक्रम बनाएको जानकारी दिएको छ । आगामी दिनमा कृषि उपज उत्पादनको खपतको समस्या नरहेको बताउँदै दीर्घकालीन बजार व्यवस्थापनका लागि कृषि सामाग्री आपूर्ति तथा कृषि उपज सङ्कलन केन्द्रहरू स्थापनामा गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको कृषि शाखाका प्रमुख टेक प्रसाद वाँस्तोला बताउँछन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































