धरान : खानेपानी संस्थान धरान शाखाले आइतबार पानी आपूर्ति व्यवस्थित गर्न नसक्ने भनी प्रकाशित गरेको विज्ञप्ति गैर जिम्मेवारीको पराकाष्ठा भएको भन्दै धरान खानेपानी बोर्डले आपत्ति जनाएको छ । संस्थानको त्यस्तो विज्ञप्ति प्रकाशित भएपछि आइतबार साँझ बोर्डले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी आपत्ति जनाएको हो ।

संस्थानको धरान शाखाले खानेपानीको लिकेज भएको थाहा नहुने गरेको उल्लेख गर्दै एक दिन बिराएर पनि खानेपानी वितरण व्यवस्थित गर्न नसक्ने जनाएको थियो । विज्ञप्तिमा संस्थानले त्यसको लागि युएडिपिको परियोजना लाई दोष दिएको थियो ।

अहिले सम्म खानेपानी वितरणको जिम्मा लिएको र महसुल असुल गर्दै आएको संस्थानले त्यस्तो विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको भन्दै बोर्डले पत्रकार सम्मेलन गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने  'धरानवासीको खानेपानी समस्या समाधान गर्ने कार्यमा बोर्ड चिन्तित छ तर खानेपानीको महसुल सङ्कलन गर्दै आएको संस्थान बोर्डमा समायोजन नभए सम्म पानी आपूर्ति गर्ने जिम्मेवारीबाट संस्थान पन्छिन खोज्नु गैर जिम्मेवारी हो' । उनले भने ‘खानेपानी बोर्डले सुरुदेखि नै संस्थान सँग सहकार्य गर्दै आएको बेला धरानका जनतालाई खानेपानी आपूर्ति बारे भ्रम फैलाउने विज्ञप्ति निकाल्नु आपत्तिजनक छ ।’   

पत्रकार सम्मेलनमा बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘खानेपानी संस्थानले हालसम्म धरानवासीहरू सँग पानीको महसुल नियमित रूपमा उठाइरहेकाले महसुल लिएका ग्राहकहरूलाई पानी पुर्‍याउनु पर्ने जिम्मेवारी पनि संस्थानमै रहेको छ ।’ पानीको महसुल काउन्टर बन्द गरी हस्तान्तरण प्रक्रिया सहज बनाउन उपमहानगरपालिका तथा बोर्डले गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको संस्थानले खानेपानी आपूर्ति असहज हुने विज्ञप्ति निकाल्नु जिम्मेवारीबाट पन्छिने बहाना मात्र भएको बोर्डको ठहर छ, भनी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘धरान खानेपानी व्यवस्थापन बोर्ड धरानवासी लाई खानेपानी र आयोजनाको संरचना प्रयोग गरी पानी वितरण गर्ने प्रयोजनमा लागि परेको छ । हाल संस्थानले व्यवस्थापन गरिरहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बोर्डले पानी सञ्चालन गर्नुपर्ने दायित्व रहेको हुँदा प्रतिष्ठानको स्वामित्वमा रहेको खानेपानी संरचनाको यथार्थ विवरण पेस गर्न गठित समितिको प्रतिवेदन पर्खिरहेको छ ।’

प्रतिष्ठानमा पानी आपूर्ति हुने संरचनाहरू जीर्ण भएको तथा डिएच–६ को वेल कुवा बिग्रिएर पानी उत्पादन नभइरहेको स्थलगत निरीक्षणमा पाइएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘त्यसको मर्मत गर्नुपर्ने कुराहरू, पूनःनिर्माणका कामका लागि भएको सम्झौता अनुसारका सबै संरचना पूरा गरी संस्थानले प्रतिष्ठानलाई बुझाउन बाँकी छ । संस्थानले सबै काम पुरा गरी बुझाएपछि प्रतिष्ठान र बोर्ड बिच बाँकी रहेकाले संस्थान–बोर्ड बिच सहकार्य अघि बढ्ने जानकारी गराउँदछौ ।

बोर्डले विज्ञप्ति मार्फत संस्थान लाई संस्थानको शाखाको जिम्मेवारी हस्तान्तरणका प्रक्रियामा उपमहानगरपालिका र प्रतिष्ठानप्रति उत्तरदायी बन्न आग्रह गर्दै यथाशक्य बोर्ड मार्फत धरानवासी लाई नियमित खानेपानी आपूर्ति गरिने प्रतिबद्धता जाहेर गरेको छ ।