इटहरी : नेपालकै ठुलो दाबी गरिएको भाटभटेनी सुपर स्टोर इटहरीमा सञ्चालनमा आएको छ । इटहरी चोक देखी २ किलोमिटर पश्चिम पकलीमा शनिवार स्टोरको उद्घाटन भएको हो ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमका बिच सुपर स्टोरको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिनमा बाहेक अन्य सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

स्थानीयलाई निमन्त्रणा पत्र सँगै छुटको कार्ड समेत उपलब्ध गराइएको छ । त्यससँगै इलेकट्रोनिक सामानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

३५ कट्ठा जमिनसहित इटहरीको ३ अर्बको लगानीमा भाटभटेनी सञ्चालनमा आएको दाबी गरिएको छ । उद्घाटन गरेसँगै प्रतिक्रिया दिने क्रममा गुरुङले आफू प्रदेश नम्बर १ मै जन्मेको भएर प्रदेशको केन्द्रमा देशकै ठुलो स्टोर खोल्न पाएकोमा खुसी भएको बताए ।

दुई वर्षमा निर्माण सम्पन्न भएको इटहरीको भाटभटेनीले प्रदेश १ कै उपभोक्तालाई केन्द्रित गरेको छ । २०७७ सालमै सञ्चालनमा ल्याउने योजना बनाएको भाटभटेनी कोभिड १९ को महामारीको कारण ढिलो उद्घाटन भएको गुरुङले बताए । ३ वटा भवनमा बाँडफाँड गरिएको भाटभटेनीको हरेक भवनमा बेसमेन्टसहितका ७ तला छन् ।

५ सय गाडी पार्किङ क्षमता रहेको भाटभटेनीमा मनोरञ्जनका लागि ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ । कफी पारखीको लागी हिमालय जाबा क्याफे निर्माणाधीन अवस्थामा छ ।

यसअघि पूर्वको धरानबाट सुरु भएको भोटभटेनीको यात्रा विराटनगर हुँदै इटहरी सम्म पुगेको छ । हाल काठमाडौँको टोखा र सानागाउँसहित हेटौँडा, धनगढी र वीरगन्जमा निर्माणाधीन अवस्थामा छ।

bhatbhateni-3Bhatbhateni-super-store-2