झापा  : दशैं त्यसै रमाइलो पर्व हो। अझ लिङ्गे पीङ र रोटे पिङले दशैको रौनक नै फेरिन्थ्यो । वर्ष दिनको चाड दशैंमा एक पटक जमिन छोड्नुपर्छ भन्ने मान्यता रहिआएको छ । तर पछिल्लो समय दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि नेपाली मौलिक संस्कृति सँग जोडिएको लिङ्गे पीङ र रोटे पिङ हराउँदै गएको छ ।

झापाका गाउँ गाउँदेखि ठुला सहर बजारमा दसैँ आउनु केही समयअघि देखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ । यस वर्ष पनि गत बर्षझै कोभिड-१९ को त्रासका कारण दसैँका बेला हालिँदै आएको पिङ कमै मात्र देखिएको छ ।

विगतमा दसैँ आउनु अघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि विभिन्न स्थानमा दर्जनौँ लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्दथ्यो । बिस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अङ्गाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि बिस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको बुझाई छ मोरङ उर्लाबारीकी मिरा थापाको । अझ यस वर्ष पनि कोभिड-१९ ले गर्दा पिङ हालेर भिडभाड समेत गर्न त्रास कायमै भएकाले चाहना भएर पनि कतिपय ठाउँमा भने पीङ नहालिएको सुन्ने गरिन्छ ।

केही वर्ष अघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ केही वर्ष यता देखी विरलै देख्न पाइन्छ । दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुर बुर्जा खेल्नेको प्रतिस्पर्धा नै हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् । दसैँको आगमनको सुरुवातसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देखिएको छ ।

दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउने गरेका छन् । झापा गौरादह ७ का कपिलमणि दाहाल उमेरले ८५ कटिसके । उनी आफ्नो पुरानो अनुभव यसरी सुनाउँछन् । “दसैँको बेलामा प्रत्येक व्यक्तिले टिकाको दिन एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यता थियो । हामी यसै गर्थ्यौ ।

Nauratha-7

परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल हुन थाल्यो । वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ र पिङ खेल्ने गरिन्थ्यो तर अहिले पहिलाको जस्तो पिङ खेल्ने दसैँमा रमाइलो गर्ने परम्परा हराइसकेको छ ।

अहिलेका युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थाले, पिङको महत्त्व एवं आवश्यकता घट्दै गयो । हाम्रा पालाको दसैँ र अहिलेको पुस्ताले मनाउने दशैंनै पुरै फरक भइसक्यो अब ।” दाहालले आफ्नो अनुभव यसरी सुनाए ।

पिङभन्दा पनि इन्टरनेटमा फेसबुक, ट्वीटर, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल सहित इन्टरनेटमा गेम खेल्ने भएकाले पिङको महत्त्व घट्दै गएको पुराना पुस्ताको विश्लेषण छ ।

दशैको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएपछि अबको दसैँ एकादेशको कथा बन्दै गएको देखिन्छ ।

ping