धरान : दशैमा आफन्त तथा मान्यजनकहाँ टिका थाप्न हिँडेका सर्वसाधारण अहिले धरानको भानुचौकमा अलपत्र परेका छन् ।

कोशी पहाडी राजमार्ग छुट्ने बस पर्याप्त नभएकै कारण दशै मनाउन घर हिँडेका यात्रुहरू पाच घण्टा भन्दा बढी समयदेखि बसको पर्खाइमा हुँदा गन्तव्यसम्म पुग्न नसकी भानुचौकमै अलपत्र पर्ने गरेका छन् ।

एकातिर पर्याप्त बस नहुनु, अर्कोतर्फ कोरोना सङ्क्रमण न्यूनीकरण नभएकै अवस्थामा सिटभन्दा बढी खचाखच यात्रु बोकेर हिँड्दा जोखिम बढेर गएको यात्रुहरू बत्ताउँछन् ।

समयमै गन्तव्यमा पुग्ने भनेर हिँडेका यात्रुहरू यसरी अलपत्र पर्दा समेत सम्बन्धित निकाय गम्भीर नभएकोप्रति सर्वसाधारण यात्रुहरू आक्रोशित समेत बनेका छन् ।

विशेष गरी विभिन्न स्थानमा रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट दशै मनाउन आएका मात्र हैन, साना बालबालिकादेखि बृद्धाबृद्धासम्म यसरी यात्रुवाहक बसको पर्खाइमा रहेका हुन् ।

मोरङको केराबारीबाट पुर्ख्यौली घर टिका लगाउन तेह्रथुम हिँडेका गजेन्द्र खड्काले तेह्रथुम जाने बस पर्खेको तीन घण्टा भएको बताए । उनले तेह्रथुम जाने बस बिहानदेखि एउटा पनि नआएको गुनासो गरे ।

पूर्वी पहाडी जिल्ला धनकुटा, सङ्खुवासभाका बसहरू बसपार्कमा प्रशस्त भए पनि ती सवारी साधनमा खचाखच यात्रु थिए । तर भोजपुर र तेह्रथुम जाने बस भने नपाउँदा सर्वसाधारण घण्टौँ सवारी साधन पर्खेर बसेका थिए ।

काठमाण्डौबाट धनकुटाको लेगुवा हिँडेका चित्र थापा घण्टौँ पर्खँदा पनि बस नआएको बत्ताउँछन् । काठमाण्डौबाट सहज रूपमा धरान आए पनि धरानबाट घरसम्म पुग्न भने सकस भएको उनले बताए ।

यातायात व्यवसायी तथा मजदुर सङ्गठनहरूले भने यात्रुको चापलाई मध्यनजर गरी बस थपेको बताए पनि बसकै अभावमा तातो घाममा गन्तव्यसम्म हिँडेका बृद्धबृद्धा, बच्चा तथा महिलाहरू प्रतीक्षामा बस्न बाध्य छन् ।

विगतमा चाडपर्वको समयमा सहज रूपमा यात्रुहरूलाई यात्रा गराउने बताउने मजदुर सङ्गठन, यातायात व्यवसायीका नेताहरू भने सुरक्षित यात्रा गराउनेतर्फ त्यति गम्भीर देखिएको पईदैन ।

यातायात मजदुर परशुराम काफ्लेले दशैलाई लक्षित गरी विगतको भन्दा दोब्बर सवारी साधन सञ्चालन गर्दा समेत यात्रुको चापलाई धान्न नसकेको बत्ताउँछन् ।

उनले आफूहरूले सुरक्षित रूपमा यात्रा गराउन खोज्दा पनि बसकै अभावका कारण यात्रु नै आफै खचाखच गरेर चढ्ने गरेको बत्ताउँछन् । कोरोनाको जोखिम त्यसमाथि खचाखच यात्रु भएका कारण सर्वसाधारणलाई यात्रा गर्दा मास्क लगाउन आग्रह गरेको उनले बताए ।

यस्तो समस्या पूर्व पश्चिम राजमार्गमा भने छैन । पूर्वी पहाडी क्षेत्रमा जाने बसमा भने यो समस्या छ । विगतमा ३० मिनेटको समयमा एउटा बस छुट्ने भए पनि अहिले यात्रुको चाप अत्याधिक भएका कारण १० मिनेट, ५ मिनटमा यात्रुवाहक बस भरिएर जाने गरेका छन् । सीमित बस त्यसमा पनि तेह्रथुममा सडक जीर्ण भएर गन्तव्यसम्म पुग्न बसलाई धौ धौ पर्ने गरेकाले पनि समस्या भएको यातायात मजदुर बत्ताउँछन् ।

सुरक्षित यात्रा गराउन सरकाले दुई वर्ष अगाडि सिन्डिकेट हटाएर सबैलाई प्रा.लि.मा लग्यो तर त्यो सम्भव भएन । तर अहिले न सरकारले व्यवस्थित गर्न सकेको छ न त यातायात सम्बन्ध सङ्गठनले व्यवस्थित गर्न सकेको छ, यसको मार भने सर्वसाधारणले भोग्नुपरेको छ । यसतर्फ सबै गम्भीर हुन जरुरी छ ।

Yatru-alapatra-4