पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवारदेखि मालपोतको घुम्तिशिविर सञ्चालनमा आएको छ। गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन आएको हो।

मङ्सिर ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने घुम्ती शिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उद्घाटन गरेका थिए । लामो समयदेखि जग्गाको कारोबार गर्न समस्या भोग्दै आएका नागरिकलाई मालपोत कार्यालयले ठुलो गुन लगाएको भन्दै अध्यक्ष चेम्जोङले प्रशंसा समेत गरे। नागरिकलाई गाउँ घरमै मालपोत सम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा सात दिने शिविर सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ।

शिविरमा अंशबन्डा, लिखत पारित २५ जना, नामसारी ४०, संशोधन र घर कायम ९ र प्रतिलिपि २७ गरी १ सय १ जनाले प्रत्यक्ष सेवा लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिए । त्यस्तै शिविर सञ्चालन भएको तीन दिनको अवधिमा ५ सय ५० जनाले सेवा लिएका छन् ।

सात दिनसम्म सञ्चालन हुने शिविरमा अंशबन्डा, धनी पुर्जा वितरण, नामसारी, बकस पत्र, दृष्टि बन्धक, भोग बन्धकी, लिखित पारित जग्गाधनीको विवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा सञ्चालन हुने मालपोत कार्यालयले जनाएको छ।