धरान: होली मनाउने क्रममा झगडा हुदा आज धरानमा एक युवाको छुरी हानी हत्या भएको छ ।

धरान ९ स्थित आचार्य लाइनमा भएको झगडामा एक युवाको हत्या भएको हो । हत्या हुनेमा धरान ८ स्थित सिद्धार्थ मार्ग लाइनका निमा तामाङ रहेका छन् । दिउँसो करिब ४ बजेतिर भएको झगडामा उनीमाथि छुरा प्रहार भएको थियो । उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याएलगत्तै मृत्यु भएको प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए । उनले भने,‘सवा ४ बजेतिर ल्याइपुर्याएको थियो, डाक्टरले उपचार गर्दागर्दै मृत्यु भयो ।’

मृतक तामाङसँगै उनको साथी मिलन बिक पनि उपचारमा पुर्याइएको थियो । उनी भने सामान्य घाइते मात्र भएको सई पराजुलीले जानकारी दिए । उनका अनुसार मृतक तामाङको दाहिने छातीमा छुरा प्रहर भएको छ । घटनामा संलग्न युवाहरु फरार रहेको र खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आजै होली मनाउने क्रममा झगडा गर्न खोज्ने तथा उच्छृंखल २१ जना युवाहरुलाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो । ती मध्ये ५ जनासँग घरेलु हातहतियार पनि भेटिएको इलाका प्रहरी कार्यालले जनाएको छ । पक्राउ परेकाहरुलाई फिल्टर गर्ने काम प्रहरीले गरिरहेको छ ।