धरान : धरान १२ स्थित पब्लिक उच्च माविको ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम विहीबारदेखी सुरु भएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम गरिएको छ । विद्यालय परिषरमा गरिएको रक्तदानमा ५७ यूनिट रगत संकलन भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले बताए । जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुबेदीले गरिन् । कार्यक्रमलाई सम्बोधन गदै उपमेयर भण्डारीले विद्यार्थीहरुलाई पढाइसंगै सामाजिक सेवामा सहभागी गराउनु राम्रो कार्य थालनी भएको बताइन् ।

public-mabi

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालयको सरसफाइ, मिनी म्याराथुन दौडलगायत विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । प्रत्येक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गदै आएको विद्यालयले विद्यार्थीको सहभागीतामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए । कार्यक्रमको समापन आउदो फागुन ८ गते हुने छ । समापन कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको सहभागीता रहने जनाइएको छ ।

२००३ सालमा स्थापना भएको विद्यालयलाई सरकारले नेपालको नमुना विद्यालयमा सुचिकृत गरेको छ । विद्यालयमा १ हजार ९ सय विद्यार्थीहरु अध्ययनरत छन् ।