धरान : सरकारले लकडाउन र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको समयमा धरान उपमहानगरपालिकाले अत्यावश्यक सामान घर घर सम्म पुर्‍याउने भएको छ ।

मङ्गलवार धरान उपमहानगरपालिकामा भएको बैठकले धरानवासीलाई घरमै खाद्यान्न पुर्‍याउने पहल गर्ने भएको हो । उपमहानगरले इलाका प्रहरी कार्यालय,उद्योग वाणिज्य सङ्घको समन्वयमा घरमै खाद्यान्न सेवा पुर्‍याउने पहल लिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारि सापकोटाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धरानले हाल हुनसक्ने आपराधिक घटनाको नियन्त्रण र न्यूनीकरणका लागि १ सय ४० जना प्रहरी परिचालन गरेको बैठकमा जानकारी गराएको थियो । उपमहानगरमा भएको निर्णय कार्यान्वयन र अनुगमन गर्न समेत थप ५० जना प्रहरी जनशक्ति प्रदेश प्रहरी कार्यालयलाई माग गरेको डिएसपी ढुण्डिराज न्यौपानेले कपुरी न्युजलाई जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरे पनि मानिसहरूले अटेर गरिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेको छ।