इटहरी : आर्थिक अवस्था कम्जोर भएका कारण उपचार खर्च जुटाउन सहयोगी हातसंग भरपदै आएका सुनसरीका १० बर्षीय ब्लड क्यान्सर पीडित विवेक आचार्यलाई भोजपुर सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।
कतारमा वैदेशिक रोजगारीका क्रममा रहेका भोजपुरका युवाहरुले संकलन गरेको एक लाख १२ हजार १ सय ५० रुपैया पीडित बालकका आफन्तलाई हस्तान्तरण गरिएको हो । भोजपुर सेवा समाज कतारले संकलन गरि पठाएको रकम इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको हातबाट पीडित बालकका आफन्त अर्जुन थापालाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण पछि पीडित बालकका आफन्त थापाले २२ महिनादेखि ब्लड क्यान्सरबाट पीडित विवेकको उपचार भरतपुर क्यान्सर अस्पतालमा भईरहेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब १८ लाख खर्च पनि भईसकेको छ ।
चिकित्सकहरुले अरु १४ महिना उपचार गर्नुपर्ने वताएकाले थप आर्थिक सहयोगको खाँचो रहेको उनले बताए । उपचारको लागि सहयोगीहरुबाट नै सहयोग संकलन गरिरहेको उनले बताए । बालकको उपचारका लागि रकम जुटाउन समन्वय गर्ने काम खगेन्द्र कार्कीले गरिरहेको पनि जानकारी दिइएको थियो ।